Listen LIVE

हिन्दु तीर्थयात्रीलाई मुस्लिम समुदायद्वारा खादा ओढाएर स्वागत

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकास्थित प्रख्यात सन्तानेश्वर महादेव मन्दिरमा आयोजित पदयात्रामा स्थानीय मुस्लिम समुदायले हिन्दु तीर्थयात्रीलाई रुद्राक्षको माला र खादा ओढाएर भव्य स्वागत गरेका छन् । यसले स्थानीयस्तरमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत भएको छ । 

गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक शाहले तीर्थयात्रीको सम्मान गर्दै धर्मका नाममा समाज विभाजित हुन नहुने भन्दै फरक आस्था भए पनि आपसी सम्मान, विश्वास र भाइचारा कायम रहनुपर्ने बताए । 

तीर्थयात्री सुमित्रा थारूले स्वागतको अनुभव सुनाउँदै भनिन, 'मन्दिरमा पुग्दा मुस्लिम समुदायका नागरिकले रुद्राक्ष माला र खादाले स्वागत गर्नुभएकोमा अत्यन्तै खुसी लाग्यो, यसले सद्भावको स्पष्ट सन्देश दिन्छ ।' 

स्थानीय विनय दीक्षितले पनि नरैनापुरले समाजमा विभाजनभन्दा एकता प्रोत्साहन गरेको बताए । उनले व्यवस्थापनको काममा मुस्लिम टोलीको संलग्नता रहेको र हरेक समुदायका व्यक्ति समान रूपमा सहभागी भएको वताए । 

अधिवक्ता वसन्त गौतमले फरक आस्था भएका व्यक्तिले ठुलो भण्डारा आयोजना गरी पर्यटन विकासमा सहयोग पु¥याउनु सामाजिक सद्भावको नमुना भएको बताए । लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कृष्णा केसी 'नमुना'ले पनि यही सहिष्णुता र एकताको मार्ग देशभरि अनुकरणीय हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया