नेपालगञ्ज : चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि एक पटक रगत अभाव सुरु भएको छ । जाडोको मौसममा अन्य समयको तुलनामा रक्तदान कम हुने हुँदा रगत अभाव सुरु भएको नेपालगञ्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ ।
केही दिन अगाडि मात्रै एकजना स्थानीय पत्रकारलाई डेंगु भएपछि रगत खोज्दा रगत पाउन निकै समस्या परेको जनाउँदै नेपालगञ्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रक्तदानका लागि विभिन्न संघसंस्थालाई फेरि आग्रह गरिएको बताउ । उनले पश्चिम नेपालकै प्रमुख केन्द्रको रुपमा रहेको बाँकेमा विभिन्न जिल्लाबाट बिरामी रिफर भएर आउने तथा यहाँ पनि रगतको आवश्यकताका बिरामी धेरै भर्ना हुने हुँदा रगतको संकलन भन्दा माग धेरै बढी हुने गरेको बताए ।
रगत अभाव कम गर्न रक्तदानका लागि आग्रह गरिए बमोजिम गरिमा विकास बैंक क्षेत्रीय कार्यालय कोहलपुरले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेर एकै दिन ६५ जनाबाट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कोहलपुरको प्राविधिक सहयोगमा बैंकले बृहत रक्तदान कार्यक्रम गरेर ६५ पिन्ट रगत संकलन गरेको प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ ।
गरिमा विकास बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको कोहलपुर शाखा प्रबन्धक श्रवण न्यौपानेले जानकारी दिए । उनका अनुसार सोही अनुरूप यस वर्ष पनि १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेर ६५ जनाले रगत दिएको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरको दक्षिणतर्फ रहेको क्षेत्रीय कार्यालयबाट कोहलपुरका नागरिकलाई गरिमा विकास बैंकले बैंकसम्बन्धी सेवा प्रदान गर्दै आएको न्यौपानेले जानकारी दिए ।
सो अवसरमा कोलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै अन्तरक्रिया गरिएको थियो । निर्वाचित सबै कार्यसमितिसँग बैंक क्षेत्रसँग सम्बन्धित लगायतका विषयमा समेत छलफल अर्थात् तन्तरक्रिया गरिएको प्रबन्धक न्यौपानेले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार