बागलुङ : बुटवल जाने सडक अप्ठ्यारो हुँदासम्म किसानको उत्पादन लिन घरघरै व्यपारी आउँथे । अहिले कालीगण्डकी करिडोर खुलेर चार घण्टामै पुग्ने सडक बन्यो, तर आजकल व्यपारी गाउँ आउन छाडे ।
जैमिनी नगरपालिका वडा नं १ को टारीखेतमा लगाइने मुलाको बीउ खोज्दै आउने व्यपारी आजकल हाइब्रिड बीउ बेच्न थालेपछि किसानको बारीमा आउन छाडेका हुन् । व्यापारी आउन छाडेपछि किसानले उत्पादन गर्न पनि छाडेका छन् ।
युवा पुस्ता काम गर्न अगाडि नसरेको र स्थानीय जातको बीउको तुलनामा हाइब्रिड सस्तो भएपछि किसानले खेती छाडेको स्थानीय किसान मोतीप्रसाद पौडेलले बताए । टारीखेतमा सात वर्षअघि सम्म लाखौंको मुलाको बीउ उत्पादन हुन्थयो ।
पौडेल आफू एक्लैले वर्षमा ६ हजार किलो मुलाको बीउ बेचेको सम्झन्छन् । धान थन्क्याएपछि लगाइने मुलाले चार महिनामै उत्पादनसमेत दिन्थ्यो ।
२०५२ देखि २४ वर्षसम्म टारखेतमा मुला लगाएर किसानले लाखौं कमाए । धान भित्र्याएपछि लगाएको मुलाले हिउँदमा राम्रो उत्पादन दिन्थ्यो । मुलाको बीउ बेचेरै स्थानीय डिल्लीप्रसाद आचार्य, माया नेपाली र मोतीप्रसाद पौडेल लगायतले वार्षिक ५ लाख बढी रकम कमाएको सम्झन्छन् । मुलाकै पैसाले उनीहरुले घर खर्च चलाए, छोराछोरी पढाए ।
कतिले मुलाकै बीउ बेचेर सहरमा घरघडेरी जोडे । बीउ बेच्न उनीहरुले बजारसमेत खोज्न पर्थेन । व्यापारी घरघरै आउँथे । २०५२ सालदेखि कृषि मन्त्रालयको ‘कोशी पहाडी तरकारी आयोजना’ र ‘बीउ बिजन प्रवद्र्धन कार्यक्रम’ले अब्बल जग्गा ठह¥याएर टारीखेतलाई मुलाको व्याड बनाएको थियो । यहाँ उत्पादन हुने बीउ काठमाडौं र भैरहवा लगायतका बीउ भण्डारले खरिद गरेर लैजान्थे । मन्त्रालय र जिल्ला कृषि विकास कार्यालयको अनुमति लिएर व्यपारी बीउ किन्न खेतमै आइपुग्थे ।
२०७६ पछि विस्तारै बीउ बिक्री हुन छाडेर यहाँको फाँट हिउँदमा बाँझै भयो । अहिले टारीखेतमा मुला लगाउन छाडियो । झण्डै ८ सय रोपनी जमिनमा लगाउने मुला अहिले दुई चार रोपनीमा खुम्चिएको छ । त्यो पनि बिक्रीका लागि नभइ एक दुईजना किसानले घरमै प्रयोग गर्न मात्रै लगाएका छन् ।
बजारमा आएका हाइब्रिड जातका तरकारी र बीउबिजनले किसानको सपना सबै चकनाचुर पारिदियो । ‘हाइब्रिडको बीउ सस्तो पाइन्छ, हामीले उत्पादन गरेको महँगो पर्छ,’ पौडेलले भने, ‘किनेर खाने बानी परेपछि दुःख गर्ने पनि घटेका छन् ।’ किसानले पाएको मूल्यसमेत घटेको उनले बताए ।
किसानले दुःख गरेर फलाउँदा प्रतिकिलो १ सय ५० पर्ने मुलाको बीउ बजारमा १ सयमै पाइन थालेको उनले बताए । हाइब्रीड लगाएपछि अर्को वर्ष बीउ लाग्दैन ।
बसाइँसराइले कतिपय किसान मधेस पुगे । युवाहरु खाडी र युरोपमा पसेपछि बाबुआमालाई काम नगर्न सुझाए । हाइब्रीड बीउ एकपटकका लागि मात्रै हुन्छ । किसानले फलाएको बीउ भने पटक–पटक प्रयोग गर्न सकिन्थ्यो ।
बीउ बिक्री हुन छाडेपछि धेरै जग्गा हिउँदमा बाँझै छ । केहीले तरकारी र गहुँ लगाएका छन् । ‘पहिला जस्तो कमाइ पनि छैन, यो खेतको महत्त्व पनि छैन,’ पौडेलले भने, ‘न कृषिले चासो राखेको छ, न स्थानीय सरकारको ध्यान छ, अब टारीखेतको इतिहास मेटिने भयो ।’ पौडेलले पनि बीउ छाडेर सागपात लगाएको बताए । केही जमिनमा आलु लगाएको उनले बताए ।
बीउ टिप्ने बेला खेतैभरी खेताला लगाउने चलन पनि आजकल हटेको छ । कतिपय जमिन घडेरीको रुपमा बिक्री गर्ने, बेसाहा खाएर खेत बाँझै राख्ने चलन बढेको स्थानीय काशीराम आचार्यले टिप्पणी गरे । ‘खेतमा झार फलाउने, बेसाहा खाने चलन बढ्यो,’ आचार्यले भने, ‘किसानको नाम लिने, अनुदान पाए खाइहाल्ने, काम नगर्ने प्रवृत्तिले उत्पादन घटेको हो ।’
धान, मकै र तरकारी अन्यत्र पठाउने कुश्मीसेरा बजारमै अहिले तराईको तरकारी र हाइब्रीड बीउ भित्रन थालेको उनले टिप्पणी गरे । कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र सिलवालले उत्पादनको मात्रा घटेकाले किसान र व्यपारीबीचको सम्बन्ध टुटेको बताए । त्यसबाहेक पछिल्लो समय ल्याब परीक्षण गरेर मात्र बीउ बिक्री गर्ने चलन बसेपछि व्यापारीले चासो नदिएका हुन् ।
जिल्ला तहमा ल्याब राख्ने अवस्था नभएपछि सम्बन्ध टुटेको र जोड्न नसकिएको पौडेलको भनाइ छ । बजारमा हाइब्रीड बीउ बढेकोले स्थानीय जातको बीउ बिक्री हुन छाडेको व्यवसायी केवी रानामगरले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार