Listen LIVE

च्याउ खाँदा सावधानी अपनाउन सुझाव

सल्यान : वर्षायाममा च्याउको उपभोग अत्यधिक हुने भएकाले सावधानी अपनाउन वनस्पतिविज्ञले सुझाव दिएका छन् । विषालु च्याउको सेवनले मानिसको मृत्यु नै हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ । यस सन्दर्भमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सचेतना अभियान सञ्चालन गरिरहेको छ । 

वर्षा लागेसँगै वनजङ्गल, झाडी र खेतबारी छेउछाउमा विभिन्न किसिमका च्याउ उम्रिन थालेका छन् । उम्रिएका च्याउमध्ये कैयौँ अत्यन्तै विषालु रहेको र जसको सेवनले गम्भीर बिरामी वा ज्यानसमेत जान सक्ने भएकाले सतर्कता अपनाउन अनुसन्धान केन्द्रले आग्रह गरेको हो । 

अनुसन्धान केन्द्रका अनुसार नेपालमा करिब १३ सय प्रजातिका च्याउ पाइने गरेकोमा तीमध्ये एक सयभन्दा बढी प्रजाति विषालु रहेको छन् । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले भने, “केही प्रजाति त यस्ता छन्, जसको सानो मात्रा सेवनले पनि मानिसको मृत्यु हुन सक्छ ।” 

च्याउको गन्ध, स्वाद वा रङ हेरेर मात्र विषालु हो कि होइन भन्ने छुट्याउन नसकिने भएकाले शङ्का लागेमा च्याउ नखानु नै सुरक्षित हुने उनको भनाइ छ । विषालु च्याउ खाँदा वान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, मिर्गौलामा समस्या आउने, चेतना हराउने र मृत्युसमेत हुन सक्ने जोखिम हुने डा. पाठकले बताए । बच्नका लागि सुझाव दिँदै उनले भने, “पहिचान नखुलेको च्याउ नखानुहोस् । असहज लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।” सावधानी नै मुख्य सुरक्षा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया