नेपालगञ्ज : बाँकेको एक वनमा वन्यजन्तुका लागि पहिलो पटक सोलार सिस्टमबाट पिउने पानी व्यवस्था गरिएको छ ।
जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर –८ स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमसेरगञ्ज–माथेवास चक्ला वनमा सोलार पम्पसहितको पानी पोखरी निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले कम्दी जैविक मार्गमा पहिलो पटक सोलार पम्पसहितको वन्यजन्तुका लागि पानी पोखरी निर्माण कार्य सम्पन्न भएको बताए ।
उनले डिभिजन वन कार्यालय बाँकेले राप्तीसोनारी ८ स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमसेरगञ्ज–माथेवास चक्ला वनमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (ईलम परियोजना)को आर्थिक सहयोगमा ५५ मिटर बोरिङ गरी पानी निकालिएको जानकारी दिए ।
यो पोखरीले वन्यजन्तुको वासस्थानका साथै आगलागी नियन्त्रणमा समेत ठुलो राहत पु¥याउने विश्वास लिइएको भन्दै उनले बस्तीभन्दा निकै टाढा रहेको यो पोखरी जैविक मार्ग व्यवस्थापनको नमुना अभ्यासको रुपमा रहने उल्लेख गरे ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले लामो प्रयासपछि वनक्षेत्रमा सोलार सिस्टमबाट वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न सकिएको बताए । उनले करिब १० लाख रुपियाँको लागतमा २ किलोवाट क्षमताको सोलारसहितको पानी पोखरी निर्माण भएको जानकारी दिए ।
यसअघि पानीको खोजीमा वन्यजन्तुहरु मानव बस्तीसम्म पुग्दा मानव–वन्यजन्तुबिच द्वन्द्व हुनुका साथै वन्यजन्तुमाथि आक्रमण हुने जोखिम पनि रहेको थियो । बाँकेका त्रिशक्ति, भगवती, मधु, अशोक, जनमुखी, रामजानकी, सिद्धेश्वरी तथा जनकल्याण लगायतका सामुदायिक वनमा दर्जनौँको सङ्ख्यामा वन्जन्तुका लागि पानीको व्यवस्थापन गर्नका लागि पोखरी निर्माण गरिएका छन् ।
पानीको खोजीमा वन्यजन्तुहरु सोही क्षेत्र भएर बग्ने सिक्टा सिँचाइको पश्चिमी मूल नहरमा जाँदा कैयौँपटक डुब्ने तथा मर्ने जस्ता घटना हुँदैआएका थिए । कतिपय समयमा चोरी सिकारी गर्ने समूहले पानीमा फँसेका तथा पानी पिउन नहरमा पुगेका वन्यजन्तुमाथि आक्रमण गर्ने तथा मारेर लैजाने जस्ता क्रियाकलाप हुँदैआएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार