Listen LIVE

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

नेपालगञ्ज : बाँके जिल्लामा कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार अघिल्ला वर्षहरूको तुलनामा कुपोषित बालबालिकाको पहिचान दरमा वृद्धि भएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा जिल्लाभर ४४२ जना बालबालिकामा कडा कुपोषण देखिएको थियो। पोषण फोकल पर्सन बसन्ती मल्लका अनुसार आर्थिक वर्ष २०८१–८२ मा उक्त सङ्ख्या बढेर ५५८ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामै ३२८ बालबालिकामा कडा कुपोषण पुष्टि भइसकेको छ। तेस्रो चौमासिकमा हुने परीक्षणपछि यो सङ्ख्या गत वर्षको तुलनामा अझ बढ्ने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा बाँकेका पाँच स्थानीय तहमा गरिएको परीक्षणमा २३३ जना बालबालिकामा कडा कुपोषण फेला परेको छ। 

बाँकी तीन स्थानीय तहमा आगामी वैशाखदेखि परीक्षण सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

कडा कुपोषणसँगै पाँच पालिकामा १ हजार १०५ जना र नरैनापुर गाउँपालिकाको एक वडामा ५२ जना गरी कुल १ हजार १५७ जना बालबालिकामा मध्यम कुपोषण पनि देखिएको छ।

समुदायमा पहिचान भएका कुपोषित बालबालिकालाई …ओटिसीÚ -बहिरङ्ग उपचार केन्द्र) मार्फत पोषण तथा स्वास्थ्य सेवा उपलब्ध गरिँदै आएको छ। मल्लका अनुसार कुपोषण न्यूनीकरणका लागि किशोरावस्थादेखि नै पोषणमा ध्यान दिनुका साथै शिशु जन्मेपछि स्तनपान र पूरक आहारको सुनिश्चितता अत्यावश्यक छ।

प्रतिक्रिया