Listen LIVE

तीन महिनाअघि नै टर्मिनल भवन निर्माण सम्पन्न

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ । यस विमानस्थलले पश्चिम नेपालमै सबैभन्दा बढी हवाईसेवा प्रदान गर्दै आएको छ ।

आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरे पनि सम्झौताको तीन महिनाअघि नै निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।  

नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले पनि निर्माण कम्पनीले सम्झौताको समयभन्दा तीन महिनाअघि नै निर्माण पूरा गरेकाले केही दिनभित्रै हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । 

उनले असोजको सुरुमै हस्तान्तरण गर्ने योजना रहे पनि जेनजी आन्दोलन र मौसमका कारण केही समय पर सारिएको जानकारी गराए । 

दुई तलासहितको अत्याधुनिक सो टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको आयोजना प्रमुख थापाले बताए । 

निर्माण कम्पनीका व्यवस्थापक विनोद सुवेदीले सम्झौताभन्दा तीन महिनाअगाडि नै टर्मिनल निर्माणको काम पूरा गरिसकिएको जनाउँदै तिहारलगत्तै हस्तान्तरण गरिने बताए ।  

उनले तीन सय जना जनशक्ति खटाएर दिनरात तीव्र गतिमा काम गरेका कारण सम्झौताभन्दा पहिले नै काम पूरा गरिएको जनाउँदै असोज पहिलो सातामै हस्तान्तरण गर्ने योजना रहे पनि मौसमलगायत केही प्राविधिक कारणले तिहारपछि मात्रै हस्तान्तरण गरिने बताए । 

विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा एन्ड कम्पनीले २०७९ साल पुस १ गते सम्झौता गरेर २०८२ साल पुससम्ममा तीन अर्ब नौ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । 

निर्माण कम्पनीका व्यवस्थापक सुवेदीले दुई तलासहितको टर्मिनल भवन अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको जनाउँदै अध्यागमन र सुरक्षाका लागि कार्यालय भवन पनि तयार पारिएको बताए । भवनको अन्डरग्राउन्डमा सर्वसाधारणका लागि विभिन्न पसलसमेत राखिने छ । उनले भने, “यो अत्याधुनिक टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।”

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले चार दशकभन्दा पुरानो यस विमानस्थलको स्तरोन्नति गरिएपछि अब यस क्षेत्रका सर्वसाधारणको माग अनुसार भारतको दिल्लीलगायतका ठुला सहरमा पनि उडानको दबाब बढाउन सहज हुने बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अत्याधुनिक टर्मिनल भवन निर्माणपछि अब यस क्षेत्रका बासिन्दाले माग गर्दै आएको अन्तर्राष्ट्रिय उडान पनि सम्भव हुने बताए । नेपालगञ्ज विमानस्थल २०३७ सालमा निर्माण गरिएको थियो । त्योभन्दा पहिले यो विमानस्थल खजुरामा रहेको थियो । 

यो विमानस्थलबाट अहिले सङ्घीय राजधानी काठमाण्डौलगायत कर्णालीका विभिन्न पहाडी जिल्लामा पनि उडान हुँदै आएको छ ।

प्रतिक्रिया