Listen LIVE

नेपालगञ्जमा युवतीमाथि साङ्घातिक आक्रमण, आरोपी पक्राउ

नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित कारकाँदो ट्राभल भिलेज नजिक सुर्खेत रोड क्षेत्रमा एक युवतीमाथि साङ्घातिक आक्रमण भएको छ । आक्रमणबाट २० वर्षीया जीना भुजु गम्भीर घाइते भएकी छन् ।

गएराति करिब १ बजे आफ्नै घरमा सुतिरहेकी भुजुमाथि एक व्यक्तिले मार्ने उद्देश्यले आक्रमण गरेको बताइएको छ । आक्रमणका क्रममा उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ ।

पीडितले आक्रमणकारीसँग प्रतिकार गर्ने क्रममा ठूलो आवाज आएपछि उनका बुवा–आमा घटनास्थलमा पुगेका थिए । परिवारका सदस्यहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।

घटनामा संलग्न व्यक्ति नेपालगञ्ज उपमहानगरपालिका–१६, जसस्पुर निवासी सुरज सुनार सोनकर रहेको पुष्टि भएको छ । घटनाको जानकारी पाएलगत्तै परिवार र स्थानीयले सुरक्षा निकायसँग समन्वय गरेका थिए ।

घाइते जीना भुजुको हाल नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेका आरोपीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

स्थानीयवासी तथा पीडित पक्षले यस्ता जघन्य प्रकृतिका अपराध नियन्त्रण र रोकथामका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् । उनीहरूले अपराधीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने र यस्ता घटनाले समाजमा असुरक्षा बढाउने भएकाले सरकार तथा सुरक्षा निकाय गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया