नेपालगञ्ज : पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक नेपालगञ्ज नाकाबाट जडिबुटी निकासी हुने क्रम फेरि वृद्धि हुन थालेको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज जडिबुटी निकासीको ‘हब’ मानिन्छ ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा यो नाकाबाट ३३ करोडभन्दा बढीको जडिबुटी निर्यात भई गत आर्थिक वर्षको सोही अवधीभन्दा ७१ प्रतिशत बढी जडिबुटी निर्यात भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले चालु आवको साउनदेखि पुस मसान्तसम्म ३३ करोड १३ लाख ४९ हजार रुपैयाँको विभिन्न प्रकारका ११ लाख १४ हजार ८०४ किलो जडिबुटी निर्यात भएको बताए । उनले गत आवको सोही अवधीमा १९ करोड ३४ लाख ७४ हजार रुपैयाँको जडिबुटी निर्यात भएकोमा यस वर्ष सोही अवधीमा जडिबुटी निर्यातमा १४ करोडभन्दा बढी वृद्धि भएको बताए ।
यो नाकाबाट पहिलो पटक सल्लाको आँखला पनि निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत ६ महिनामा ६ लाख ३२ हजार रुपैयाँको ३९ हजार ४८६ मेट्रिक टन सल्लाको आँखला निर्यात भएको छ । सल्लाको आँखलाको निर्यातमा सय प्रतिशत कर लगाइएकाले निर्यात कम भएको व्यवसायीले जनाएका छन् ।
पछिल्लो समयमा जडिबुटी प्रशोधन गरेर निकासी गर्ने क्रम पनि बढेको उद्योगी व्यवसायीहरूले बताएका छन् । नेपालगञ्ज नाकाबाट भारत निकासी हुनेमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमला सबैभन्दा बढी रहेको जडिबुटी व्यवसायी सङ्घले जनाएको छ ।
नेपालबाट निकासी हुनेमध्ये ८५ प्रतिशत जडिबुटी भारतमा निकासी हुने गरेको जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले बताए ।
उनले केही वर्ष यता आएर फेरि जडिबुटी निर्यात बढ्दै गएको जनाउँदै सरकारले निर्यात सहज हुने गरी जडिबुटी नीति ल्याए निकासी अझ वृद्धि हुने बताए ।
अध्यक्ष शर्माका अनुसार हिमाली जिल्लामा सङ्कलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ । साना व्यवसायीले जडिबुटी ओसारपसार गर्न नसक्ने अवस्था रहेको छ । एउटा जिल्लाबाट अर्को जिल्ला लैजान समेत अप्ठ्यारो हुने गरेको व्यावसायीहरूको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार