Listen LIVE

जानकीमा पशुचौपायालाई महामारीविरुद्धको भ्याक्सिन लगाईंदै

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा गाई भैँसीलाई महामारीको जोखिमबाट जोगाउन ६ महिना माथिका पशुचौपायामा महामारीविरुद्धको निःशुल्क भ्याक्सिन लगाउन शुरु गरिएको छ ।

जानकी गाउँपालिकामा पशु सेवा शाखाले १ देखि ६ नम्बर वडा सबैमा २–२ जना गरी जम्मा १२ जना भ्याक्सिनेटरको टोली परिचालन गरेर यही जेठ ४ गतेदेखि भ्याक्सिन लगाउने कार्यको शुरुवात गरेको हो । पालिकाले रोग नफैलियोस् भनेर पहिले नै महामारी विरुद्धको अभियान सञ्चालन गरेको हो । ६ वटै वडामा ४ गतेदेखि नै भ्याक्सिन लगाउन शुरु गरिएको छ । 

गाई भैँसीमा महामारीकै रुपमा देखिने भ्यागुते र चरचरे रोग नलागोस् भनेर खोप लगाउन सुरु गरिएको पशु स्वास्थ्य शाखा प्रमुख दिल बहादुर खड्काले बताउनुभयो । गाउँपालिकामा रहेका १७ हजार गाईभैँसीहरुलाई निःशुल्क भ्याक्सिन लगाउने लक्ष्य रहेको पशु स्वास्थ्य शाखा प्रमुख खड्काको भनाई छ । गाउँपालिकाले गाई भैँसीमा लाग्ने महामारी रोग विरुद्ध भ्याक्सिन अभियान सञ्चालन गरेपछि किसानहरु खुशी भएका छन् । जानकी–३ का शिव प्रसाद शर्माले गाउँपालिकाबाट गाईभैँसीहरुको लागि घरघरमै पुगी निःशुल्क खोप अभियान सञ्चालन हुँदा खुशी लागेको बताए । जानकी–५ का रमेश यादवले पनि पालिकाले सराहनीय काम गरेको बताए ।

खोप अभियान एक हप्तासम्म सञ्चालन हुनेछ । खोप अभियान शुभारम्भ कार्यक्रममा जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव, आर्थिक समितिका संयोजक कमलादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, योजना शाखाकी प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपीचन्द्र चौलागाईको सहभागिता रहेको थियो ।

प्रतिक्रिया