Listen LIVE

भन्सारले पहिलो महिनामै लक्ष्य पुर्याउन सकेन

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो महिनामै लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । विगत तीन आर्थिक बर्षदेखि लगातार बार्षिक लक्ष्य हासिल गर्न नसकेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आ.व. २०८१/०८२ को सुरुवाती महिना साउनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सकेन ।

चालु आर्थिक बर्षका लागि अघिल्लो आ.व.का तुलनामा अर्ब बढी लक्ष्य घटाएर निर्धारण गरेपनि सुरुवातमै असुली कमजोर देखिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार, चालु आ.व. २०८१/०८२ को साउन महिनाका लागि कुल २ अर्ब ४ करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरिएकोमा ७३.६७ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ ।

भन्सारले साउन महिनामा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार असुली लक्ष्य निर्धारण गरेको थियो । गत आ.व.मा लक्ष्य हासिल नभएपछि नेपालगञ्ज भन्सार कार्यालयको लक्ष्य चालु आ.व. २०८१/८२ का लागि गत आ.व.को तुलनामा १ अर्ब घटाइएको थियो । गत आ.व.मा २०८०/०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकोमा घटाएर चालु आ.व.मा भन्सार असुली लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो ।

यद्यपि, गत आ.व.मा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजश्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आ.व.का लागि २७ अर्ब बढी तोकिएकाले चालु आ.व.मा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौति हुने भन्सार अधिकारीहरू बताउँछन् । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले लक्ष्य नै बढी हुँदा लक्ष्य अनुसार असुली हुन नसकेको बताउँदै आएका छन् । भन्सारले विगतमा पनि लक्ष्य अनुसार असुली गर्न सकेको छैन ।

प्रतिक्रिया