Listen LIVE

कोरला नाका खुलेपछि बढ्दै आर्थिक कारोबार

मुस्ताङ : सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिए । सोही विद्रोहका कारण वि.सं. २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरियो ।

सन् १९८१ को नेपालचीनबिच व्यापार सम्झौताअनुसार सीमा क्षेत्रका बासिन्दालाई शून्य भन्सारमा तिब्बती सामग्रीको निरूबाध व्यापार गरिन्थ्यो । बि.स २०५८ सालसम्म प्रवेशमा कुनै अवरोध नरहेको सीमा वि.सं २०५९ देखि चीनले तारबार गरेर अन्तरदेशीय मेला बाहेकको अवधिमा नाका पूर्णरूपमा बन्द गरेपछि चाडपर्व र तिब्वतीको चाहनाअनुसार मात्र नाकामा व्यापार मेलामा करिब १५ दिनसम्म लाग्ने ब्यापार मेला आयोजना गरिए पनि कुनै समय बिचमै मेला रोकिएका घटनासमेत छन् । 

तिब्बतमा उत्पादन हुने सामान, कृषि तथा पशु मुस्ताङ प्रवेश गर्न सहज थियो भने मुस्ताङबाट नेपाली उत्पादन तिब्बतमा प्रवेश निकै कठिनाइ हुन्थ्यो । एक शताब्दी अघि पूर्णरूपमा रोकिएको नाका विस्तारै खुकुलो हुदै अहिले व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । अनेक उतारचढाव र समस्याको गाँठो फुक्दै गएसँगै वि.स २०८० कात्तिक २७ देखि औपचारिक रुपमा भब्य समारोहबिच कोरला नाकाको उद्घाटन भएकोमा चालु आर्थिक वर्ष २०८२–८३ सालको भदौ ३० गते व्यावसायिक रूपमा सञ्चालनमा आएको नाकाले माघ ९ गतेसम्म ५ अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ ।

हालसम्म २ हजार ३ सय २९ विद्युतीय (ईभी) गाडीसहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । कोरला नाकाबाट –११ अर्बको पैठारी हुँदा २० करोड मूल्य बराबरको नेपालमा उत्पादन भएका हस्तकला, जडिबुटी, पस्मिना लगायत विभिन्न उत्पादन निकासी भएको छ ।

समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रमा ५५ भन्दा बढी पसल सञ्चालन गरिरहेका स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामान बिक्री गरिरहेका छन् । लोमान्थाङ –१ र २ वडासहित गाउँपालिका भित्रका करिब १ सय १४ जनाभन्दा बढीले ब्यवसाय र चिनियाँ भन्सार कार्यालयमा पुगेर सामान खरिद गरिरहेका छन् ।

प्रतिक्रिया