Listen LIVE

छाउपडी प्रथा कायमै,महिनावारीका बेला दिइँदैन दुग्ध पदार्थ

मुगु : मुगुमा महिला तथा किशोरीलाई महिनावारी (छाउपडी) भएका दुध, दही नदिने चलन अझै कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका बला दिँदा गाईवस्तु बाँझो हुने अन्धविश्वासले महिला तथा किशोरीलाई दुध नदिने चलन हट्न सकेको छैन । जिल्लाको छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाको  वडा नं. ९ मा अहिले पनि छाउप्रथा कायमै छ । यहाँका महिला छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन् ।

छायानाथ रारा नगरपालिका–६ की मुनरूपा बोहोराका अनुसार महिनावारी भएका महिलालाई गाईभैँसीको दुध, दही दिए भने कहिल्यै नब्याउने र फलफूलका बिरुवालाई पनि छोएमा सुक्छ भन्ने अन्धविश्वास रहेको छ । पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म पनि हट्न नसकेको उनले बताइन् । महिनावारी भएका महिलाले दुध, दही, मोही खान त के गाईभैँसीको शरीरमा समेत छुन नपाउने यो परम्परा अहिलेसम्म कायमै रहेको उनले जनाइन् । 

उनले भनिन, “स्वास्थ्यकर्मीको सल्लाह अनुसार महिनावारी भएको समयमा महिलाको शरीरबाट धेरै रगत खेर जाने भएकाले त्यस्तो बेला दुध, दही, मोहीलगायतका खानेकुरा खानुपर्ने बताउँछन् तर आफन्त र धामीझाँक्रीले खानु हुँदैन भन्छन् । महिनावारी भएको पाँच दिनसम्म दुध, दही खान दिँदैनन् । त्यस्ता पोषणयुक्त खाने कुराबाट सधैँ वञ्चित हुनु परेको छ ।” यहाँका अधिकांश गाउँबस्तीमा महिनावारी भएका बेला महिलालाई गाईको गहुत छर्केर शुद्ध गराउने चलन रहेको बोहोराले बताइन् ।

महिनावारी भएका महिलालाई दुध दिँदा दुहुनो गाईभैँसी बाँझो हुने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँदा देवता लाग्ने जस्ता भ्रम हट्न नसकेको छायानाथ रारा नगरपालिका–८ का समाजसेवी लालबहादुर रावलले बताए । यता जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ प्रमुख मनीषा लामिछानेका अनुसार महिनावारी भएका बेला शरीरबाट धेरै रगत बग्ने हुँदा दुध दही जस्ता तागतिला खानेकुरा खुवाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया