Listen LIVE

वेष्टर्न हस्पिटललाई उत्कृष्ट करदाताको सम्मान

नेपालगञ्ज : वेष्टर्न हस्पिटल प्रालि नेपालगञ्ज आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा आर्थिक वर्ष २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने करदाता बनेको छ ।

आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले आज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । हस्पिटलका सञ्चालक डा. विनोद कुमार थापाले सम्मान ग्रहण गरेका हुन् ।

नेपालगञ्जमा आयोजित शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले कर प्रणालीमा समयसापेक्ष सुधार आवश्यक रहेको बताए । उनले करदातामैत्री वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई, उद्योग ब्यापार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, आइक्यान बाँकेका अध्यक्ष तेज प्रकाश दीक्षित, अडानका केन्द्रीय सचिव जुवेर राई, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कर अधिकृत उदयराम केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का कर अधिकृत किरण डाँगीले गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख न्यौपानेले प्रत्येक वर्ष कर उठ्ने क्रम क्रमशः वृद्धि भइरहेको बताए । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको कार्य क्षेत्र बाँके र बर्दिया जिल्ला हुन् ।

प्रतिक्रिया