Listen LIVE

गर्मीबाट बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

नेपालगञ्ज : गत एक सातादेखि अत्यधिक तातो हावा 'लु' चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराईको जनजीवन प्रभावित भएको छ । नेपालगन्ज र आसपासका क्षेत्रमा केही दिनयता 'लु' चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । 

बिहानैदेखि घाम चर्किएपछि दिनभरि शरीर पोल्ने तातो हावा चल्ने गरेका कारण दिउँसोको समयमा बजार तथा ग्रामीण क्षेत्र सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँड्डुलसमेत घट्दै गएको छ । 

नेपालगञ्ज नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले हाल आएर एक्कासि बढेको गर्मी र 'लु'ले स्थानीयको जनजीवन प्रभावित भएको बताए । उनले अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझबाहेक बाहिर निस्कनै कठिन भएको जनाउँदै दिनको समयमा घरबाहिर निस्कनै नसक्ने अवस्था रहेको जनाए । 

नेपालगञ्ज उपमहानगरपालिका–११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले गर्मीका कारण  दिउँसोको समयमा सेवाग्राही पनि निकै कम आउन थालेको सुनाए । 

अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने कामदार र मजदुर  बढी प्रभावित बनेका छन् । अटोरिक्सा र ठेलाचालकले गर्मीका कारण काम गर्न असहज भएको बताएका छन् । 

नेपालगञ्ज–११ का अटोरिक्सा चालक नन्कु शेषले अत्यधिक तापका कारण बिहान र बेलुका बाहेक घरबाट अटो निकाल्न डर लाग्ने गरेको बताउँदै दिउँसो सडकमा सवारीसमेत नभेटिने गरेको बताए । 

उनका अनुसार अहिले बजारमा यात्रु निकै कम भेटिने गर्दा अटोरिक्सा चलाउन समस्या भएको छ । अन्य समयमा व्यस्त रहने बजारका सडक र चोकमा अटोरिक्साको उपस्थितिसमेत अहिले निकै पातलो देखिएको छ । यसैबिच मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आगामी केही दिनसम्म तातो लहर चल्ने जनाएको छ । 

लुम्बिनी प्रदेशको बाँके, बर्दिया, कपिलवस्तु र रूपन्देहीलगायतका जिल्ला गर्मीबाट अत्यधिक प्रभावित हुनेमा पर्दछन् । 

तातो हावाका कारण गर्मी बढ्दै जाँदा चिकित्सकले अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुती कपडा प्रयोग गर्न सुझाव दिएका छन् । 

भेरी अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. सङ्केतकुमार रिसालले शरीरमा पानीको कमी हुन नदिन पटक पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया