दाङ : भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा चारदिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तालिममा नसर्ने रोग रोकथाम, लैङ्गिक असमानता न्यूनीकरण र यौन दुव्र्यवहार रोकथाम सम्बन्धी प्रमाण–आधारित विशेष प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाअन्तर्गतका ५७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने ११४ जना शिक्षक र १ जना विद्यालय नर्स सहभागी थिए।
सहभागीहरूलाई ‘प्रमाण–आधारित विशेष र टिप्स शैक्षिक पाठयोजना मोड्युल’ प्रयोग गरी शिक्षण गर्ने व्यावहारिक सीप सिकाइयो। प्रशिक्षणले विशेष गरी स्वास्थ्य, शारीरिक शिक्षा, सिर्जनात्मक कला तथा सामाजिक अध्ययन र मानव मूल्य शिक्षा विषयमा पाठ्यवस्तुलाई प्रभावकारी रूपमा कसरी समेट्ने भन्नेमा केन्द्रित थियो।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख टिकाराम खड्काले विद्यालय समाज परिवर्तनका आधारशिला भएको बताए। उनले शिक्षकलाई तालिममा सिकेका सीप कक्षाकोठामा लागू गर्न आग्रह गर्दै भने,“सिकाइलाई व्यवहारमा उतारेर विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याउन शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे र राप्ती बबई क्याम्पस प्रमुख गणेश पार्धेले पनि यस्ता कार्यक्रमले स्वस्थ र समतामूलक समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले प्रभावकारी र व्यावहारिक तालिमका लागि प्रतिष्ठानलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
तालिम सहजीकरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी शाखा अधिकृत शान्ति विष्टसहित भुलप्रसाद अधिकारी, रमेशकुमार यादव र कमल थापाले गरेका थिए। समापन सत्रमा प्रतिष्ठानकी संस्थापक अध्यक्ष प्राडा रीता थापाले तालिममार्फत सिकेका ज्ञान र सीप कक्षाकोठासम्म पुग्ने विश्वास व्यक्त गर्दै उपमहानगरपालिकासँगको सहकार्यलाई निरन्तरता दिने बताइन्।
प्रतिष्ठानले यसअघि झापा, जुम्लाको चन्दननाथ, सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका, र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकामा समेत यस्तै प्रकृतिका तालिममार्फत २२९ जना शिक्षक तथा विद्यालय नर्सलाई प्रशिक्षण प्रदान गरिसकेको छ। यो कार्यक्रम सातै प्रदेशका स्थानीय तहमा विस्तार गर्दै लैजाने योजना रहेको प्रतिष्ठानले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार