Listen LIVE

बेतबाँसबाट राम्रो आम्दानी गर्दै लमहीवासी

दाङ : दाङको लमही बड्का घुम्ना निवासी अनुशा चौधरीलाई गाउँ छेउमा रहेको बेतबाँसको वनको महत्वको बारेमा खासै चासो र जानकारी थिएन । घना जङ्गलको रुपमा परिणत भएको त्यो वनमा सित्तिमित्ति पस्न सक्ने अवस्था पनि थिएन तर अहिले अनुशालाई त्यो बनको बेतबाँसबाट फूलदानी, टोकरी, मुढा, टेबुल बनाउन सक्ने सीप प्राप्त भएको छ ।

हातमा सीप भएपछि बेतबाँसका सामग्री बनाएर आयआर्जन गर्न सक्ने हिम्मत उनमा जुटेको छ । उनले भनिन, “पहिले खासै चासो थिएन, अहिले बेतबाँसबाट सामग्री बनाउन थालेपछि यसैबाट स्वरोजगार पनि बनिने रहेछ भन्ने भएको छ ।“ बेतको जङ्गल अहिले हाम्रो आम्दानीको स्रोत बन्न थालेको छ । 

लमही नगरपालिका–४ बड्का घुम्नास्थित राप्ती नदीको किनारमा बेतबाँसको वन छ । पाँच हेक्टरमा फैलिएको यो वनमा रहेको बेतबाँसको उपयोग थिएन । करिब दश वर्षसम्म सामुदायिक वन नविकरण नहुँदा खेर गइरहेको बेतबाँसको विभिन्न सामग्री बनाउन थालिएको छ । करिब दश वर्षसम्म सामुदायिक वन निष्क्रिय जस्तै थियो । सामुदायिक वनको कार्ययोजना स्वीकृत भएको थिएन । 

लेखापरीक्षण र अन्य संस्थागत क्रियाकलाप नहुँदा वन निष्क्रिय थियो । वनभित्र रहेको बेतबाँस पनि प्रयोगमा आएको थिएन । डिभिजन वन कार्यालय देउखुरीका कार्यालय प्रमुख राजु क्षेत्रीले सामुदायिक बनको सक्रियतासँगै अहिले बेतबाँसका सामाग्री निर्माण गरेर उपभोक्ताको आम्दानीको स्रोत बनाउन थालिएको बताए ।

दाङ जिल्लामा बेतबाँस रोपेर हुर्काइएको सामुदायिक वनमध्ये घुम्ना सामुदायिक वन पहिलो नम्बरमा छ । पाँच हेक्टरमा फैलिएको वनबाट एक हेक्टर क्षेत्रफलबाट कम्तीमा दश हजार किलो बेतबाँस उत्पादन गर्न सकिने, यसबाट वार्षिक ५० हजार किलो कच्चापदार्थ उत्पादन गर्न सकिन्छ । 

प्रतिकिलो ५० रुपैयाँको दरले मात्रै बिक्री गर्ने हो भने वार्षिक २५ लाख रुपैयाँ समूहले आम्दानी गर्न सकिने देखिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख क्षेत्रीले जानकारी दिए । फर्निचर र डेकोरेसनका सामग्री बनाएर बिक्री गर्न सके वार्षिक थप २५ लाख आम्दानी गर्न सकिने उनको भनाइ छ । घुम्ना सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा बेतबाँसका सामग्री बनाउन थालिएको छ । पहिलो चरणमा ११ प्रकारका सामग्री तयार पारिएको वन समूहका अध्यक्ष हल्लु चौधरीले बताए ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बेतबाँसबाट निर्मित सामग्रीको बजारीकरणका लागि स्थानीय सरकारले सहजीकरण गर्ने बताए । वनलाई उपभोक्ताको आयआर्जन बढाउन जोड्न आवश्यक रहेको भन्दै यो अभियानबाट उपभोक्ताको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “बेतबाट बनेका सामग्रीहरु वातावरण पनि हुनेहुँदा यसको प्रयोगका लागि स्थानीय सरकारले पहल लिन्छ, बेतका सामग्री देशभर यहाँबाट पठाउनेगरी कार्यक्रम बनाउँछौं ।“

घुम्ना सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध २० जना उपभोक्तालाई बेतबाँसबाट फर्निचर सामग्री बनाउन सीप सिकाइएको छ । २१ दिनसम्म चलेको तालिममा बेतबाँसबाट विभिन्न फर्निचर सामाग्री बनाउन सिकाइएको थियो । सामुदायिक वन अध्ययन केन्द्रको आयोजना, डिभिजन वन कार्यालय देउखुरीको सहजीकरण, घुम्ना सामुदायिक वन उपभोक्ता समूहका संयोजनमा तालिम आयोजना गरिएको हो ।

प्रतिक्रिया