कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–१० का युवा व्यवसायी सन्तोष पौडेलले विगत दुई वर्षदेखि ठेकी स्वादको मही (काठको ठेकीमा दही राखेर मदानीका सहायताबाट मथेर बनाइने) ब्रान्डिङ गरी रहेका छन् ।
विगत १० वर्षदेखि दुग्धजन्य पदार्थको व्यवसायमा हात हालेका पौडेलले विगत ३ वर्षदेखि महीको व्यापार गर्न थाले पनि दुई वर्षदेखि ठेकी स्वादको महीको ब्रान्डिङ गर्न लागेको बताए ।
नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक सङ्घ बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहुनभएका पौडेल भन्छन, 'राजनीतिमा सेवाभावले लागेँ, पहिला–पहिला धेरै क्रियाशील भएँ, पछिल्लो समय उद्यमतिर हात हालेको छु, घर व्यवहार चलाउन र आर्थिक उन्नतिका लागि उद्यम सुरु गरेँ ।'
कोहलपुर–१०, कालिकानगर डेरी चोकस्थित आफ्नै घरमा 'ए–वान डेरी उद्योग' सञ्चालन गर्दै आएका पौडेलले भने, 'लामो समयदेखि दुग्धजन्य पदार्थको व्यवसाय गरेँ, पछिल्लो तीन वर्षदेखि महीमा हात हालेँ, दुई वर्षदेखि त व्यावसायिक रूपमै यहाँबाट ठेकी स्वादको मही उत्पादन सुरु गरेर यसको ब्रान्डिङमा लागिरहेको छु ।'
पौडेलका अनुसार पछिल्लो समय ठेकी स्वादको महीको माग उच्च छ । दैनिक ४ सय लिटर ठेकीबाट बनाइएको मही र डेढ सय लिटर मेसिनबाट बनाइएको खुला मही बिक्री हुँदै आएको उनले बताए ।
'ठेकीबाट मथेर बनाइएको मही दैनिक चार सय लिटर जति बिक्री हुन्छ, यो महीलाई उत्पादन गरी लेबलिङ गरेर बोतलमा प्याकेजिङ गरेपछि बजार पठाउँछु, त्यसैगरी डेढ सय लिटर खुला मही उत्पादन हुन्छ, जुन मही उद्योगबाटै बिक्री हुन्छ' पौडेलले भने ।
हाल पाँच सय मिली लिटरको बोतलमा ठेकी स्वादको मही उत्पादन गर्दैआएको उनको भनाइ छ । यसको मूल्य होलसेलमा ३० रुपैयाँ राखिएको र खुला मही प्रतिलिटर ६० रुपैयाँमा बिक्री गर्दै आएको उनको भनाइ छ ।
ठेकी मही बनाउन दाउराको चुलोमा आगोबाटै दुध तताएर बनाउने गरिएको उनको भनाइ छ । 'पहिला दुधलाई दाउराको आगोबाट बाल्ने चुलोमा मनतातो गरी तताउँछु त्यसपछि मेसिनमा लगेर क्रिम काट्नु पर्छ, क्रिम काटेको दुध पुनः चुलोमा ल्याएर बेस्सरी उमाल्छु' पौडेलले भने, 'उम्लेको दुधलाई चिस्याइ सकेपछि नर्मल तापक्रममा ल्याएर दहीको जामन हाली सकेपछि २–३ घण्टा हिटिङ रुममा राख्नुपर्छ, त्यसको ४–५ घण्टापछि आवश्यकता अनुसार ठेकीमा राखेर मदानीको सहायताले मथेपछि ठेकी स्वादको मही बन्छ ।'
यसोगर्दा आगोमा पकाएको दुधको स्वादका साथै ठेकीको पनि स्वाद महीमा हुने हुँदा उपभोक्ताहरूले धेरै मन पराइरहेको उनको भनाइ छ । मही पिउँदा पाचन प्रणालीमा सुधार हुने, तौल नियन्त्रण हुने, शरीरलाई सुक्खापनबाट बचाउने, थकान हटाउने, एसिडिटी घटाउने, क्याल्सियम पाइने, छालाको सुन्दरता बढाउने, रक्तचाप नियन्त्रण हुने तथा शरीरमा भएका विषाक्त पदार्थ निकाल्न मद्दत पुग्नेजस्ता स्वास्थ्यसम्बन्धी फाइदा पनि हुने पौडेलले बताए ।
पौडेलले आफ्ना घरपरिवारका सदस्यसहित अन्य चार जनालाई पनि उद्योगमा रोजगार दिएका छन् । उद्योग सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकार तथा कोहलपुर नगरपालिकाबाट मेसिनरी सामग्रीमा सहयोग प्राप्त गरेको उनी बताउँछन् । कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको अटोबाट पौडेलले महीलाई बजारमा पु¥याउँदै आएको बताउँछन् ।
उनी सरकारसँग माग गर्छन्, 'साँच्चिकै महीलाई अझै राम्रोसँग ब्रान्डिङ गर्ने हो भने सरकारले म जस्ता मही उत्पादन गर्ने डेरी व्यवसायीलाई पानी उत्पादन गर्ने फिल्टर अनुदान या सहुलियतमा उपलब्ध गराउनुपर्छ, यसो भएमा महीको उत्पादन तथा ब्रान्डिङ गर्न थप सहज हुन्छ ।'
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार