कोहलपुर (बाँके) : अत्याधिक गर्मी बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रबिलाल मिजारका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयहरू बन्द रहनेछन् ।
नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ । मौसममा तत्काल सुधार आउने संकेत नदेखिएको र तापक्रम लगातार बढिरहेको अवस्थाले बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता महसुस गरिएको मिजारले बताए ।
प्रचण्ड गर्मीका कारण दिउँसोका समयमा कोहलपुरका सडकहरू सुनसान देखिन थालेका छन्। बजार क्षेत्रको चहलपहल समेत घट्दै गएको छ भने सर्वसाधारण सकेसम्म घरभित्रै बस्न बाध्य भएका छन् । तातो घाम र लु चल्ने जोखिम बढेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको स्थानीयहरू बताउँछन् ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई बढी प्रभावित पार्न सक्ने भन्दै पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
नगरपालिकाले हालका लागि तीन दिन बिदा घोषणा गरे पनि मौसमको अवस्था र तापक्रमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ । आवश्यकता अनुसार आगामी दिनमा बिदाको अवधि थप गर्न सकिने संकेतसमेत दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार