Listen LIVE

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

डडेलधुरा : सुरक्षित गर्भपतन सेवा लिने  महिलामध्ये २० वर्षमुनिका किशोरीको चुनौती कायमै रहेको छ । सुरक्षित गर्भपतन गराउनेमा २० मुनिका किशोरीको सङ्ख्यामा बर्षेनि चुनौती थपिँदै गएको हो ।  

स्वास्थ्य कार्यालय डडेलधुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–८१ मा जम्मा एक हजार १९ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यो सङ्ख्यामध्ये ५६ जना २० वर्षमुनिका किशोरी थिए । उनीहरूले जिल्लाका सुरक्षित गर्भपतन गरिने विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपत सेवा लिएको स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले बताए । 

उनका अनुसार आव २०८१–८२ मा एक हजार ६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो सङ्ख्यामध्ये ३२ जना २० वर्षमुनिका किशोरी रहेका छन् । स्वास्थ्य कार्यालय डडेलधुराका आमा सुरक्षा कार्यक्रम प्रमुख आशा थापाले महिलाले २० वर्षमुनि गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिले जोखिममा रहने बताइन् । २० वर्षमुनि आफ्नै शरीर शारीरिक तथा मानसिकरूपमा परिपक्व नभएको अवस्थामा थुप्रै समस्या आउन सक्ने सम्भावना बढी हुन्छ । यसको रोकथामका लागि थुपै जनचेतनामूलक कार्यक्रम गर्दै आएकोमा रोकथाम तथा नियन्त्रण गर्न चुनौती रहेको उनले बताइन् । 

कार्यालय प्रमुख साउदका अनुसार सरकारले व्यवस्थापन गर्न नसक्दा समस्या चुनौतीका रूपमा खडा भएको छ । अस्थायी साधनकोसमेत अभाव हुँदा समस्या भएको उनको भनाइ छ । परिवार नियोजनको अस्थायी साधन आइयुसिडी सेवासमेत अहिले दिन सकिने अवस्था नरहेको कार्यालय प्रमुख साउदले बताइन् । 

यहाँको समुदायमा २० वर्ष नहुँदै विवाह हुने भएका कारण पनि २० वर्षमुनिका किशोरीले गर्भपतन गराउँदा चुनौती थपिएको छ । जिल्लाभर २६ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेका छन् । यसैबाट नै पुष्टि हुन्छ कि गर्भवती गर्भपतनको चुनौती कस्तो छ ।

प्रतिक्रिया