नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उदघाटन गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उदघाटन गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे ।
मुख्यमन्त्री आचार्यले भने,’यसलाई १५ शैयामा सीमित गर्नु हुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५० शैयाको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौँ ।’
उनले आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे । सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ,’ मुख्यमन्त्री आचार्यले भने,’यसका लागि अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यान दिन जरुरी छ ।’
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाललगायतले पनि सम्बोधन गरे ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाडौँका प्राविधिक प्रहरी नायव महानिरीक्षक डाक्टर गोपेश कुमार ठाकुरले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारीले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार