Listen LIVE

कर्णालीमा बालविवाह अझै रोकिएन

सुर्खेत : वीरेन्द्रनगर–३ की बिनु थापाको १७ वर्षको उमेरमा विवाह भयो । अहिले २५ वर्ष नपुग्दै उनी तीन सन्तानकी आमा भइसकेकी छिन् । 'उमेर पुगेको भन्दै आमा–बुबाले विवाह गरिदिनुभयो,' उनले सुनाइन् । बाल्यकालका रहरहरू जिम्मेवारीमा परिणत भए ।

बिनुजस्तै रमा विकको पनि १६ वर्षमै विवाह भयो । दुई सन्तान जन्माइसकेकी उनी अहिले २० वर्ष पुग्दै छिन् । पढ्ने–रमाउने उमेरमा काखमा नानी च्यापेर पारिवारिक जिम्मेवारी वहन गर्नुपरेको उनी बताउँछिन् ।

यी प्रतिनिधि उदाहरण मात्र हुन् । कर्णालीमा अझै पनि धेरै किशोरीहरू उमेर नपुग्दै विवाह गर्ने गरेको तथ्यांकले देखाउँछ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा १५ वर्ष नपुग्दै विवाह गर्ने दर २ प्रतिशत रहेको छ, जसमा महिला ३.१ प्रतिशत र पुरुष ०.६ प्रतिशत छन् । यो दर राष्ट्रिय स्तरमा १.९ प्रतिशत छ ।

यसैगरी, १८ वर्ष नपुग्दै विवाह गर्ने दर कर्णालीमा २०.१ प्रतिशत रहेको छ, जसमा महिला २९ प्रतिशत र पुरुष ९.५ प्रतिशत छन् । राष्ट्रिय स्तरमा यो दर १४.१ प्रतिशत (महिला २१.९ प्रतिशत र पुरुष ५ प्रतिशत) रहेको छ । कर्णालीमा २० वर्ष नपुग्दै विवाह गर्ने दर ४३.६ प्रतिशत रहेको छ, जसमा महिला ५५.६ प्रतिशत र पुरुष २९.२ प्रतिशत छन् ।

बालविवाह अन्त्य गरी बालिकालाई घर वा विद्यालय फर्काउनु ठूलो चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् । वीरेन्द्रनगरमा आयोजित बालविवाह, बाल यौन दुव्र्यवहार तथा बालबालिका ओसारपसार रोकथाम र बालअधिकारसम्बन्धी कार्यशालामा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले चेतनाको अभावका कारण बालविवाह अझै बढ्दो अवस्थामा रहेको बताए । स्थानीय तहसँगको सहकार्यमा सचेतना अभियानलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उनले जानकारी दिए । आर्थिक अवस्था कमजोर हुनु, रहनसहन र देखासिकीका कारण पनि बालविवाह बढिरहेको उनको भनाइ थियो ।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य–सचिव इन्द्रादेवी ढकालले बालविवाहका कारण घरेलु हिंसा बढिरहेको बताइन् । नीतिनियमबारे नागरिक अनभिज्ञ हुँदा समस्या गम्भीर बन्दै गएको उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले बालविवाह अन्त्यका लागि रणनीतिक योजना तयार पारेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त रणनीतिअनुसार आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम कार्यान्वयन गरिनेछ । मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख उपसचिव सुवर्ण खड्काले 'कर्णाली प्रदेश बालविवाह अन्त्य सम्बन्धी रणनीति–२०८२' तयार भइसकेको जानकारी दिए ।

प्रतिक्रिया