नवलपुर : नवलपुरका ग्रामीण भेगका महिला स्वरोजगार बन्न थालेका छन् । यहाँका महिलाले दुना टपरीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
त्यसबाट विपन्न वर्गका उपभोक्ताको सामान्य घरखर्चको जोहो मात्र नभई पर्यावरणीय रूपमा समेत फाइदा पुगेको बताइएको छ । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुना टपरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।
देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुना टपरी उद्योग सञ्चालनमा ल्याएसँगै महिलाको फुर्सदको सदुपयोग मात्र नभई दुना टपरी आयआर्जन गर्ने माध्यम बनेको छ । स्थानीयवासी टकमाया नेपालीको दैनिकी पनि हिजोआज जङ्गल गई सालको पात टिप्ने र लाफा लगाउने काममै बित्ने गरेको छ । यस व्यवसायबाट आयआर्जन गर्न सहज भएको उनको भनाइ छ ।
एक दिन जङ्गल गएर टिपेको पातले तीन–चार दिन लाफा बनाउन सकिन्छ । यसबाट महिलालाई घर–व्यवहार चलाउन सहज भएको बिमा नेपालीले बताइन् । पाँचदेखि सातसय रुपैयाँसम्मको लाफा उपसमितिलाई बेच्ने गरिएको छ । तयारी दुना टपरी बजारमा पुग्दा दुनाको दुई रुपैयाँ ५० पैसा र टपरीको पाँच रुपैयाँ पर्ने गरेको उनले बताइन् ।
उमेरले ७१ लाग्नु भएका गोरी कुमालले भनिन, “वनमा आफू जान सक्दिन, बुहारीहरूले ल्याएका पातबाट दुना टपरी लगाएर यो उमेरमा आफूले सक्ने काम गर्दै आएको छु ।” समयको सदुपयोगसँगै आम्दानीबाट घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।
उनले भनिन, “आफूले जानेको सिपलाई घरमा नै बसेर पनि सदुपयोग गर्न सकिँदो रहेछ । जाँगर र मन भएमा वृद्ध उमेर भए पनि घरखर्च चलाउन छोरा बुहारीलाई गुहार्न परेन, झन् उनीहरूले कमाएको बचत हुन्छ । आफ्नो औषधीमुलो गर्न खर्च पुगेको छ । बुहारीले वनबाट पात ल्याउँछिन् मैले दुना टपरी गाँस्ने गरेको छु ।”
स्थानीय अमृता मानन्धरले परम्परागत नेपाली दुना टपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको बताइन् । दुना टपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले महिलालाई आय–आर्जनका लागि दुना टपरी उद्योग उपयुक्त हुने बताइन् ।
वन खुलेको समयमा महिला जाने र पात टिप्ने गर्छन् । एकसय वटा टपरीको १ मुठा हुन्छ । १ मुठाको १५० रुपैयाँ प्राप्त हुने स्थानीयको भनाइ छ । सामुदायिक वनबाट पात टिपेर नै जीविकोपार्जन गर्न सहज भएको स्थानीयको गुनासो आएसँगै वनमा पात टिप्न भन्दै, वनको संरक्षणलाई ध्यानमा राखेर, छुट्टै समय छुट्याएको मनकामना सामुदायिक वनका अध्यक्ष सालिकराम सापकोटाले बताए ।
विभिन्न पूजाआजा, विवाह व्रतबन्ध लगायतका काममा शुद्ध मानिने भएकाले पनि सालको पातवाट बनेका टपरी, दुनाको माग वढ्दो छ । पातवाट निर्माण गरिएको दुना टपरी नारायणगढ, पोखरा, काठमाण्डौ, बुटवललगायत देशैभर पुग्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार