Listen LIVE

घोराही उपमहानगरले राजश्व वृद्धि गर्न अभियान चलाउने

दाङ : दाङको घोराही उपमहानगरपालिकाले आन्तरिक राजश्व वृद्धिका लागि एक महिने घुम्ती व्यवसाय दर्ता तथा बहाल कर सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ ।

नगरको राजश्व वृद्धिका लागि व्यवसाय तथा बहाल कर महत्त्वपूर्ण हुने भएकाले मङ्सिर १० गतेदेखि लगातार १ महिनासम्म घुम्ती अभियानमार्फत व्यवसाय दर्ता गर्न थालेको हो । घोराहीमा अझैपनि ३५ प्रतिशत बढी व्यवसाय दर्ताबिना सञ्चालन भएको देखिएकाले त्यस्ता व्यवसाय सञ्चालन भएको ठाउँमा पुगेर नै दर्ता गर्ने व्यवस्था गरिएको घोराही उपमहानगरपालिका बजेट तथा राजश्व व्यवस्थापन शाखाका प्रमुख कृष्ण केसीले बताए । 

अभियानमा व्यवसायको पुँजी अनुसार एक वा दुई आर्थिक वर्षको कर लिएर दर्ता प्रक्रियामा ल्याइने छ । बिना दर्ता सञ्चालन भएका व्यवसायहरू दर्ताका लागि राजश्व गस्ती परिचालन, विभिन्न सञ्चार माध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण, वडा तथा टोलविकास संस्थामार्फत अनुरोध गर्दापनि अटेर गर्ने व्यवसायीहरूको घुम्ती अभियानमार्फत ठाउँको ठाउँ व्यवसाय दर्ता गर्ने र अटेरी गर्नेलाई कानुन बमोजिम कारबाही समेत गरिने शाखा प्रमुख केसीले बताए । 

राजश्वका शीर्षकअन्तर्गत व्यवसाय कर, घर बहाल कर र बहाल बटौरी शुल्क सोचे अनुरूप सङ्कलन हुन नसकेको भन्दै यी क्षेत्रलाई ध्यानमा राखेर यस वर्ष कार्यक्रम सञ्चालन गर्न थालिएको बताए । घोराहीले चालु आर्थिक वर्ष २०८१–०८२ मा ५५ करोड आन्तरिक राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । 

लक्ष्य पूरा गर्नका लागि घुम्ती व्यवसाय दर्ता तथा बहाल कर सङ्कलन अभियानले सहयोग गर्ने शाखा प्रमुख केसीले बताए । शाखा प्रमुख केसीले भने, “करको दायरामा नआएको व्यवसायीलाई करको दायरामा ल्याउने र उपमहानगरपालिकाको लक्ष्यलाई पुरा गर्ने गरी अभियान सञ्चालन गर्ने तयारीमा छौँ ।“

प्रतिक्रिया