Listen LIVE

बाँकेमा महिलाहरू करोडौं लगानीको सहकारी चलाउँदै

नेपालगञ्ज : गुन्द्रीमा बसेर बैठक गर्ने महिलाहरू अहिले करोडौंको लगानीसहित सहकारी संस्था सञ्चालन गरिरहेका छन् । बाँकेको बैजनाथ गाउँपालिका–५ मा सञ्चालित श्री दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था लिले ७६० जना महिलालाई समेट्दै कृषि, पशुपालन र आर्थिक उद्यममा उल्लेखनीय सफलता हासिल गरिरहेको छ ।

सहकारीकी अध्यक्ष लक्ष्मी कुमारी ओलीका अनुसार संस्था मार्फत हालसम्म ८ सय २८ वटा खसी बिक्री वितरण भइसकेका छन् । त्यस्तै, रासायनिक मलको आपूर्तिका लागि २७,२५० केजी डिएपी र ५०० केजी पोटास उपलब्ध गराइएको छ । किसानहरूलाई तरकारी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले निशुल्क बीउ–बिजन पनि वितरण गर्दै आएको अध्यक्ष ओलीले बताइन् ।

सहकारीले ऊर्जा दक्षताका लागि २५ वटा इन्डक्शन चुलो वितरण गरेको छ भने महिला सदस्यहरूलाई समूह जमानतमा २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइरहेको छ । हालसम्म सहकारीको कुल लगानी १ करोड ५० लाख रुपैयाँ नाघिसकेको छ ।

केवल ३ जना कर्मचारीको बलमा सञ्चालित यो संस्था महिलाहरूको मेहनत, एकता र लगनशीलताको उत्कृष्ट उदाहरण बनेको छ । ग्रामीण महिलाहरूले देखाएको यस्तो सफल प्रयास अरूका लागि प्रेरणाको स्रोतसमेत बनिरहेको छ ।

सरोकारवाला निकाय र सहकारीसँग सम्बन्धित संघ–संस्थाहरूले यस्ता मेहनती र उद्यमी महिलाहरूको सहकारीलाई आवश्यक सहयोग पुर्याए अझ उत्कृष्ट परिणाम हासिल गर्न सकिने देखिएको छ । बैजनाथ गाउँपालिकाले पनि ‘पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत यस्ता सच्चा किसान र उद्यमशील महिलाको सहयोग, अनुगमन र प्रोत्साहनमार्फत आत्मनिर्भरता बढाउन सकिने बताइएको छ ।

प्रतिक्रिया