Listen LIVE

बर्दियाका सबै स्थानीय तहको बजेट सात अर्बभन्दा बढी

बर्दिया : बर्दिया जिल्लामा रहेका ६ नगरपालिका र २ गाउँपालिका गरी आठ वटा स्थानीय तहहरुले आर्थिक वर्ष २०८२–०८३ का लागी ७ अर्ब ३७ करोड ५२ लाख ४७ हजार ३७९ रुपियाँको बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

बर्दिया जिल्लाको सदरमुकाममा रहेको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको गुलरिया नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ५ करोड ३५ लाख १४ हजार ७३१ रुपियाँको बजेट मङ्गलवार १४ औँ नगर अधिवेशनबाट सार्वजनिक गरेको छ । 

गुलरिया नगरपालिकाले सार्वजनिक गरेको बजेटसहितको नीति तथा कार्यक्रममा गुलरियामा रहेको प्रमुख पर्यटकिय क्षेत्र दुर्लभ जनावर कृष्णसार संरक्षणदेखि पर्यटन प्रवद्र्धन प्रचारप्रसार र नगरवासीलाई कृषिमा अभिप्रेरित गर्दे आमदानी बढाउँदै युवाहरुलाई रोजगार प्रवद्र्धन गर्नेसम्मका कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ भने गुलरिया नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न किसिमका विकास निर्माणसम्बन्धी कामहरु सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा सङ्घ र प्रदेशसँग सहयोगको अपेक्षा राखेको छ । 

त्यसैगरी गुलरिया नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने, नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक वडामा सञ्चालनरत नगर स्वास्थ्य केन्द्रहरूलाई अझ प्रभावकारी बनाउने र नगरवासीका लागि नगर सरकार छ भन्ने तथ्य कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए । 

त्यसैगरी बारबर्दिया नगरपालिकाले प्रमुख पर्यटकीय क्षेत्र सतखलुवा तालको संरक्षणसहित प्रचार प्रसार गर्ने गरी आगामी वर्षका लागि ९९ करोडको वार्षिक बजेट सार्वजनिक गरेको बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुले बताए । बाँसगढी नगरपालिकाले ९४ करोड २५ लाख, मधुवन नगरपालिकाले १ अर्ब, बढैयाताल गाउँपालिकाले ७१ करोड २५ लाख ४३ हजार ९४५, ठाकुरबाबा नगरपालिकाले ९६ करोड ८९ लाख ६२ हजार ६३४, राजापुर नगरपालिकाले १ अर्ब १२ करोड ७ लाख ४ हजार र गेरुवा गाउँपालिकाले ५९ करोड ११ लाख ६६ हजार ८०० रुपैयाँको बजेट मङ्गलवार सार्वजनिक गरेका छन् । 

बर्दिया जिल्लामा यस वर्ष सबै पालिकाले समयमानै बजेट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया