बर्दिया : बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बनाउँदै आर्थिक रुपमा सक्षम बनाउने अभियान अन्तर्गतको कार्यक्रमको घरधुरीस्तरीय स्थलगत अनुगमन गरिएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा ती दुई पालिकामा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा परियोजनाबाट प्राप्त सहयोगको प्रभाव, उद्यमहरूको प्रगति तथा आत्मनिर्भरता र दिगो जीविकोपार्जनतर्फ अघि बढिरहेका युवा उद्यमीहरूको प्रेरणादायी यात्राको मूल्यांकन गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।
उनले सो परियोजनाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका ती दुई पालिकाका १०० जना युवालाई स्वरोजगार र दिगो जीविकोपार्जन प्रवद्र्धनकालागि वस्तुगत स्टार्टअप सहयोग प्रदान गरिएकोले त्यसको संयुक्त अनुगमन गरिएको बताए ।
यस कार्यक्रमबाट प्रत्यक्ष लाभग्राहीहरूका अतिरिक्त करिब ३०० जना अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको क्लबले जनाएको छ ।
बाँके युनेस्को क्लबका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं. ३, ४ र ५ मा ४० घरधुरीलाई १८४ वटा बङ्गुरका पाठापाठी, ६ घरधुरीलाई ३६ वटा उन्नत जातका बाख्रा, ३ घरधुरीलाई ३०० वटा स्थानीय कुखुरा तथा १ घरधुरीलाई फास्टफुड व्यवसाय सञ्चालनका लागि फ्रिजर र काठको काउन्टर लगायतका सामग्री प्रदान गरिएको थियो ।
त्यसैगरी मधुवन नगरपालिका वडा नं. १ र २ मा २२ घरधुरीलाई ९४ वटा बङ्गुरका पाठापाठी, २३ घरधुरीलाई ११८ वटा उन्नत जातका बाख्रा, ३ घरधुरीलाई किराना पसल सञ्चालनका सामग्री तथा २ घरधुरीलाई फास्टफुड व्यवसायका लागि फ्रिजर र काठको काउन्टर उपलब्ध गराइएको थियो ।
बङ्गुर, बाख्रा तथा कुखुरापालनमा संलग्न उद्यमीहरूलाई सुरक्षा सामग्री, औषधि, दाना खाने भाँडा, पानी खुवाउने उपकरण लगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको थियो । साथै सहलगानी मोडालिटीमार्फत बङ्गुर, बाख्रा र कुखुराको खोर निर्माणमा समेत सहयोग गरिएको परियोजनाले जनाएको छ ।
स्थलगत घरधुरी अनुगमन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना कुमारी भट्टराई तथा महिला तथा बालबालिका विकास शाखा प्रमुख गोगनसरा आचार्यको सहभागिता रहेको थियो भने मधुवन नगरपालिकाबाट नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर सल्लाहकार विजय ओली तथा प्रवक्ता मेघबहादुर गुरुङ सहभागी थिए ।
त्यसैगरी बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, बोर्ड सदस्य भावुकजंग थापा र मीना थारु लगायतको पनि सो अनुगमनमा सहभागिता रहेको थियो ।
मधुवन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष आशाराम चौधरी तथा ठाकुरबाबा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले पनि अनुगमनमा सहभागिता जनाए ।
सो क्रममा बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले सहयोग प्याकेज तथा समग्र लगानी सम्बन्धी विवरण प्रस्तुत गरेका थिए भने फिल्ड अफिसर सुनिता चौधरी र सृजना थारुले सहजीकरण गरेकी थिइन् ।
परियोजनाअन्तर्गत गरिएको यस अनुगमनले युवाहरूलाई उद्यमशीलता विकासका अवसर प्रदान गर्दै निरन्तर प्राविधिक तथा अनुगमन सहयोग उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाएको परियोजना संयोजक खड्काले बताए ।
उनका अनुसार युवा उद्यमीहरूले देखाएको प्रगतिले आवश्यक स्रोत, मार्गदर्शन र प्रोत्साहन प्राप्त हुँदा युवाहरूले चुनौतीलाई अवसरमा र सपना तथा आकांक्षालाई उपलब्धिमा रूपान्तरण गर्न सक्ने सन्देश दिएको छ ।
युवामा गरिएको लगानी केवल व्यक्तिगत सफलतामा सीमित नभई समावेशी आर्थिक विकास, समुदायको उत्थान तथा समृद्ध समाज निर्माणको आधारसमेत तयार भएको अनुगमनमा सहभागि सरोकारवालाहरूले बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार