Listen LIVE

कोहलपुरमा ७ हजार बढीलाई एचपिभी खोप लगाइने

नेपालगञ्ज : बाँकेको कोहलपुरमा ७ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीका अनुसार कोहलपुर नगरपालिकाका १५ वटा वडाका ७ हजार ४ सय ५८ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।

कोहलपुर नगरपालिकाका विद्यालयमा अध्ययनरत ७ हजार ६ सय ८ सय २० जना र विद्यालय बाहिर रहेका ६ सय ३८ जना किशोरीलाई खोप लगाउन लागिएको ठकुरीले जानकारी दिए । विद्यालय र स्वास्थ्य संस्था गरी ४६ वटा खोप केन्द्रबाट २९ गतेसम्म एचपिभी खोप लगाइने शाखाका जनस्वास्थ्य निरीक्षक अमृत रानाले जानकारी दिए ।

यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने रानाले बताए । पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएकाले अभियानलाई सफल बनाउन शाखा प्रमुख ठकुरीले सबैलाई आग्रह गरेका थिए ।

उनले उमेर पुगेका लक्षित बालिकाहरुलाई खोप लगाएर पाठेघरको क्यान्सर हुने जोखिमबाट बालिकाहरुलाई जोगाउन आग्रह समेत गरेका थिए । नेपालमा औंसतमा दैनिक ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया