Listen LIVE

बाँकेका एम्बुलेन्सको विवरण संकलन गरिँदै

नेपालगञ्ज : बाँकेमा एम्बुलेन्स सञ्चालनका विषयमा व्यापक जनगुनासो आएकोले एम्बुलेन्सहरूलाई व्यवस्थित गर्न एम्बुलेन्सहरूको विवरण सङ्कलन शुरु गरिएको छ । 

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्सहरूलाई व्यवस्थित गर्ने निर्णय गरेकोले विवरण सङ्कलन शुरु गर्न लगाइएको व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । उनले बाँके जिल्लाबाट अनुमति लिई सञ्चालनमा रहेका एम्बुलेन्सहरूको सम्पूर्ण विवरणहरू १५ दिनभित्रमा सङ्कलन गर्ने निर्णय बैठकले गरेको जनाउँदै त्यसको जिम्मेवारी स्वास्थ्य कार्यालयलाई दिइएको बताए । 

प्रमुख जिल्ला अधिकारी तामाङले भने–‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवालाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउने गरी कामहरू प्रारम्भ भएका छन् । जुन ठाउँबाट सेवाको अनुमति प्राप्त गरेको छ त्यही ठाउँबाट एम्बुलेन्स सञ्चालन गर्ने गरी अनुगमन र नियमन गरिने छ ।’ 

अहिले बर्दिया, दाङ लगायतका जिल्लाबाट सञ्चालनको अनुमति लिएका कतिपय एम्बुलेन्सहरूले नेपालगञ्ज, कोहलपुरमा बसेर बिरामीलाई सेवा दिएको पाइएको छ । एम्बुलेन्सले जुन जिल्ला, पालिकाबाट सञ्चालनको अनुमति लिएका छन् त्यहींबाट सेवा दिनुपर्ने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार एम्बुलेन्सहरूको तथ्याङ्कसहित पुर्ण विवरण सङ्कलनको काम शुरु गरिएको बताए । उनले भने, ‘बाँकेमा कस्ता–कस्ता एम्बुलेन्स छन् ? सञ्चालनको अनुमति कहाँको छ ? यी सबै कुराको अपडेट गर्ने गरी काम अगाडि बढेको छ । अव एम्बुलेन्सहरूको प्रभावकारी व्यवस्थापन गरिन्छ ।’ 

तथ्याङ्क सङ्कलनको काम दुई महिनाभित्र पूरा गरिने र त्यसपछि नवीकरणको काम शुरु हुने सूचना अधिकारी श्रेष्ठले बताए । कतिपय एम्बुलेन्स चालकहरूले फोन नउठाउने, ढिला गरी पुग्ने तथा भारतका अस्पतालमा बिरामी पुर्याएबापत कमिशन पाउने गरेको गुनासो पनि आउने गरेकोले सो बारेमा पनि अनुसन्धान आवश्यक रहेको उपभोक्ता अधिकार मञ्चका केन्द्रीय सचिव वसन्त गौतमले बताए । 

बाँकेमा करिब ६० को हाराहारीमा एम्बुलेन्स रहेको अनुमान छ । एम्बुलेन्स सेवा निर्देशिका २०८२ मा ‘क’ र ‘ख’ वर्गलाई एम्बुलेन्स मानेको छ । यसअघि ‘ग’ वर्गलाई पनि एम्बुलेन्स मान्दै आएको भएपनि नयाँ निर्देशिकाले ‘ग’ वर्गका एम्बुलेन्सलाई बिरामी बोक्ने गाडी भनेको छ । भेन्टिलेटर र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सलाई ‘क’ वर्गको सूचीमा राखिएको छ । यस्तो एम्बुलेन्स बाँकेमा केवल एचसिआरसी अस्पतालसँग मात्रै छ ।

त्यसैगरी अक्सिजन भएको, प्राथमिक उपचार जस्तै अक्सिजन जोड्ने, निकाल्ने, स्लाइन लगाउन सक्ने लगायतको तालिम प्राप्त चालक भएको एम्बुलेन्सलाई ‘ख’ वर्गमा राखिएको छ । यस्ता एम्बुलेन्स बाँकेमा करिब १० को सङ्ख्यामा रहेको अनुमान छ । बिरामी बोक्ने गाडी भने ४७ को हाराहारीमा रहेको अनुमान छ ।

प्रतिक्रिया