Listen LIVE

सामाजिक सुरक्षा भत्ताका लागि बाँकेमा दुई अर्ब निकासा

नेपालगञ्ज : आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्लाका आठ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि एक अर्ब ८० करोड १३ लाख ३१ हजार ३१३ रुपियाँ बजेट आएको थियो । 

सो मध्ये एक अर्ब ८० करोड ७ लाख ३५ हजार ५१६ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले जानकारी दिए । 

उनले करिब करिब सबै रकम निकासा भएको जनाउँदै सरकारले बाँकेमा सामाजिक सुरक्षा भत्ताका लागि एक अर्ब ८० लाख भन्दा बढी खर्च गर्दै आएको बताए । 

बाँकेमा सबै भन्दा बढी सामाजिक सुरक्षा भत्ता नेपालगञ्ज उपमहानगरपालिकाले वितरण गर्दै आएको प्रमुख भण्डारीले बताए । 

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ४३ करोड १० लाख २४ हजार ८१ रुपैयाँ निकासा भएको थियो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेका अनुसार, बाँकेको कोहलपुर नगरपालिकामा २५ करोड ५ लाख ६४ हजार ९०८, खजुरा गाउँपालिकामा २३ करोड ६६ लाख ९५ हजार ८५८ रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि निकासा भएको थियो ।

त्यस्तै, जानकी गाउँपालिकामा १५ करोड ४४ लाख ४४ हजार ४४२ रुपैयाँ, डुडुवा गाउँपालिकामा १४ करोड ९७ लाख ५७ हजार १८४ रुपैयाँ र नरैनापुरमा १२ करोड ४६ लाख १६ हजार ९६० रुपैयाँ निकासा भएको सो कार्यालयले जनाएको छ । 

सोही प्रकारले गत आर्थिक वर्षमा बैजनाथ गाउँपालिकामा २४ करोड पाँच हजार ५४३ रुपैयाँ र राप्तीसोनारी गाउँपालिकामा २१ करोड ३६ लाख २६ हजार ५३८ रुपियाँ निकासा भएको थियो ।

प्रतिक्रिया