नेपालगञ्ज : अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगञ्जका वाटरपार्क र पौडीपोखरी बनेका छन् ।
तातो हावा लु र अत्यधिक गर्मीबाट जोगिन यहाँ निर्माण गरिएका वाटरपार्क र विभिन्न होटल तथा अन्य स्थानमा निर्माण गरिएका स्विमिङ पुलमा धेरै ठुलो सङ्ख्यामा नेपाली तथा भारतीयहरु पुग्न थालेका छन् ।
गर्मी छल्नका लागि सीमापारी भारतका बहराइच, नानपारा, बाबागञ्ज, मिहिपुरवा, कैसरगन्ज लगायत विभिन्न सहर र नेपालगञ्ज, कोहलपुर तथा सो वरिपरिबाट आउनेले यहाँका पौडीपोखरी र वाटरपार्कहरु अहिले भरिभराउ छन् ।
नेपालगञ्जको जानकी गाउँपालिका–६ मनिकापुरस्थित अत्याधुनिक 'वन्डरल्याण्ड वाटर एण्ड फन पार्क' मा सबैभन्दा बढी मानिस पुग्न थालेको सो वाटरपार्कका सञ्चालक शिवन्सु यादवले बताए ।
उनका अनुसार विशेषगरी शनिबार र आइतबार तथा सार्वजनिक बिदामा धेरै मानिस आउने गरेकोमा अहिले गर्मी अत्यधिक बढेपछि हरेक दिन यहाँ ५०० देखि एक हजारसम्म पर्यटक आउने गरेका छन् ।
गर्मी सुरु भएसँगै यहाँ आउने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएकोमा हाल आएर अत्यधिक भिड बढेको यादवले बताए ।
गर्मीबाट राहत खोज्दै आएका पर्यटकका अनुसार यहाँको अनुभव निकै उत्साहजनक छ । भारत बहराइचका दिनेश मिश्रले गर्मीमा पानीमा खेल्दा शरीर मात्र होइन, मन पनि चिसिएको जनाउँदै साथीहरूसँग पौडी खेल्दा अतिनै रमाइलो भएको बताए ।
यस्तै नेपालगञ्जका रमेश साहुले बढ्दो तापक्रमका बीच यस्तो सुविधा सम्पन्न स्थान नेपालगञ्जमै उपलब्ध हुनु सकारात्मक पक्ष भएको जनाउँदै केही समय भए पनि यहाँ आएर रमाउँदा गर्मी बिर्सिने गरेको बताए ।
सोही प्रकारको भिड नेपालगञ्जको बालेगाउँमा रहेको मेरो प्लानेट वाटरपार्क र कोहलपुरको हैप्पी वर्ड नामक वाटरपार्कमा पनि हुने गरेको छ । चरम गर्मी छल्न टाढा टाढाबाट ती स्थानमा दिनभरि नुहाउनका लागि धेरै मानिस पुग्ने गरेको जनाइएको छ । वाटरपार्क बाहेक नेपालगञ्ज रंगशालामा रहेको स्विमिंग पुल, खजुरा मिनि पार्कमा रहेको स्विमिङ पुल लगायत करिब दुई दर्जन भन्दा बढी होटलमा रहेका स्विमिङ पुल पनि गर्मी छल्नेले भरिभराउ छन् ।
भारतीय सीमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको नेपालगञ्जमा निर्माण गरिएका वाटरपार्कले गर्मीको बेला नेपालका आन्तरिक तथा भारतका पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गरिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार