Listen LIVE

जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान शुरु

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि विषयमा आयोजना गरेको कार्यक्रमले स्थानीय तहमा शिक्षा सुधारको नयाँ बहस शुरु गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले गुणस्तरीय शिक्षाका लागि सबै पक्षको संयुक्त प्रयास अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको मेरुदण्ड नै सक्षम, योग्य र उत्प्रेरित शिक्षक भएको स्पष्ट पारे । विषय विशेषज्ञता, आधुनिक शिक्षण विधि र विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय बनाउने क्षमता भएका शिक्षक बिना शिक्षा सुधार सम्भव नहुने उनको भनाइ थियो। उनले कन्या विद्यालय आधारभूत तहबाट माध्यमिक तहसम्म विस्तार हुनु गर्वको विषय भएको उल्लेख गर्दै अब गुणस्तरमा कुनै कमी हुन नदिन शिक्षकहरूलाई निर्देशन दिए ।

अध्यक्ष खाँले नेलशन मंडेलाको प्रसिद्ध भनाइ स्मरण गर्दै शिक्षा समाज परिवर्तनको सबैभन्दा शक्तिशाली माध्यम भएको बताए । उनका अनुसार शिक्षा नै गरिबी, अशिक्षा र सामाजिक असमानता अन्त्य गर्ने मुख्य औजार हो । जानकी गाउँपालिका मधेशी, मुस्लिम र दलित समुदायको बहुल्यता रहेको क्षेत्र भएकाले सबैका लागि सहज र समावेशी शिक्षा सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो ।

उनले विद्यालयको भौतिक संरचना निर्माणमा प्रगति भएको जानकारी दिँदै आवश्यक पूर्वाधारका लागि थप बजेट माग गरिएको र विद्यालय परिसरमा खानेपानी बोरिङ जडान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले कन्या विद्यालयलाई 'स्मार्ट विद्यालय' बनाउने लक्ष्यसहित करिब तीन करोड रुपैयाँ बजेट माग गरिएको जानकारी दिए । उनले शिक्षकहरूलाई आगामी परिवर्तनका लागि तयार रहन आग्रह गर्दै गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको अधिकार भएको बताए । साथै, 'पढ्दै कमाउने' अवधारणालाई लागू गरी रोजगारमूलक शिक्षा दिनुपर्नेमा उनको विशेष जोड थियो ।

गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले शिक्षकहरूलाई 'समाजको ऐना' बन्न आग्रह गर्दै छोरी शिक्षाको महत्वमा प्रकाश पारे । उनले कन्या विद्यालयलाई स्थानीयस्तरमै सीमित नराखी जिल्लाकै नमूना विद्यालय बनाउने लक्ष्यका साथ अघि बढ्न आह्वान गरे ।

शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले कन्या विद्यालय आधारभूतबाट माध्यमिक तहमा स्तरोन्नति हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै यसलाई उत्कृष्ट विद्यालयको रूपमा विकास गर्न शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन् । महिला शिक्षिकाहरूले नेतृत्व गरेको विद्यालय भएकाले उदाहरणीय कार्यसम्पादन गर्नुपर्ने उनको सुझाव थियो ।

शिक्षाविद् किरण आचार्यले गुणस्तरीय शिक्षालाई केवल परीक्षा परिणाममा सीमित नराखी जीवनपयोगी सीप, अनुशासन, नैतिकता र स्वावलम्बनसँग जोड्नुपर्ने उल्लेख गरिन् । उनले शिक्षक, पाठ्यक्रम, पूर्वाधार, मूल्याङ्कन प्रणाली र अभिभावक–समुदायबीचको सम्बन्धलाई गुणस्तरीय शिक्षाको आधारका रूपमा व्याख्या गरिन् । 

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष राजकुमार बर्मा, सामाजिक विकास समिति संयोजक रामअचल धोबी, शिक्षिका कमला चपाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप सिंह ठाकुर र प्रधानाध्यापक मालती कुमारी शाही लगायतले विद्यालयको शैक्षिक अवस्था, भर्ना अभियान तथा आगामी योजनाबारे धारणा राखेका थिए ।

कार्यक्रमक अवसरमा गाउँपालिका अध्यक्ष खाँले कन्या विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गर्न अनुमति पत्र प्रदान गरेका थिए, जसले जानकी गाउँपालिकामा छोरी शिक्षाको क्षेत्रमा नयाँ अध्याय थपेको छ ।

प्रतिक्रिया