दाङ : तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो ।
दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए ।
गुठीका रूपमा सञ्चालन गर्न दिनेगरी अनुमति प्रदान गरिएको नगर प्रमुखको भनाय छ । स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषाको विद्यालय सञ्चालनको अनुमतिका लागि उपमहानगरपालिकामा माग गरेका थिए ।
सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले निर्णय गरेको हो । अहिलेसम्म जिल्लामा थारू समुदायका लागि गुठीअन्तर्गत छुट्टै विद्यालय सञ्चालनमा छैन । उक्त विद्यालयलाई थारू भाषाबाट पढाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगरप्रमुख खड्काले बताए ।
सबै थारू समुदायका विद्यार्थी त्यही पढ्न गएमा आवासीयसमेत बनाउन सकिने उनको भनाइ छ । उपमहानगरपालिकाले देशमै यो नयाँ अभ्यास थालेको नगरप्रमुख खड्काले बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको तुलसीपुरमा २१ प्रतिशत थारू समुदायको बसोबास छ । जहाँ ३८ हजार ३२५ जनसङ्ख्या रहेको छ ।
तुलसीपुरमा सबैभन्दा बढी क्षेत्रीको ३५.३ प्रतिशत र त्यसपछि थारू समुदायको जनसङ्ख्या छ । यसअघि वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा थियो ।
भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पढाउन सकिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार