Listen LIVE

प्युठानमा स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्याइदिए

नेपालगञ्ज : प्युठानमा स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्याइदिएका छन् । ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो । तीन दिनअघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो ।

तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोचेकी थिएनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् । त्यो साँझ पनि पेट अलि बढ्तै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई सम्पर्क गरिन् । उनीहरुले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे । बाहिर झरी रोकिएको थिएन । रात परिसकेकाले गाडीमा स्वास्थ्यचौकीमा जाने सम्भावना पनि थिएन । माइती घरबाट उनी ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् । उनी स्वास्थ्यचौकी पुग्दा रातको ८ बजिसकेको थियो । त्यसैदिन राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उनलाई घर जान सल्लाह दिए । तर पानी परिरहेकाले गाडी चलेका थिएनन् । उनलाई बोकेर घरसम्म लैजान गाउँका अरु कोही तयार भएनन् । त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उनको घरसम्मै पुर्याइदिए ।

‘स्वास्थ्य चौकीमा गाउँका अरु मान्छेहरु पनि थिए । उनीहरुलाई घरसम्म पु¥याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार भएनन्,’ जनस्वास्थ्य निरीक्षक टुकाराम पोख्रेलले भने, ‘त्यसपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पुर्याइदियौं ।’ जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोकेकी थिइन् ।

जिवा विक मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आएका थिए । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । त्यसैले उनी माइतमा बस्दै आएकी छन् । स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेल एक मात्र पुरुष कर्मचारी छन् । अहेब, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी सबै महिलामात्र छन् ।

प्रतिक्रिया