Listen LIVE

'इजलास र कानुन व्यवसायीबिचको पारस्परिक मर्यादा अपरिहार्य'

नेपालगञ्ज : बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश दिपककुमार दाहालले न्यायिक प्रणालीप्रति जनविश्वास कायम राख्न इजलास र कानुन व्यवसायीबिचको पारस्परिक सम्मान तथा मर्यादा अपरिहार्य रहेको बताएका छन् । 

नेपाल बार काउन्सिलद्वारा अधिवक्ता तहको ३४औँ परीक्षा उत्तीर्ण गरेका नवप्रवेशी कानुन व्यवसायीहरूका लागि नेपालगन्जमा आयोजित दुईदिने अभिमुखीकरण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश दाहालले कानुन व्यवसायीले इजलासमा अवाञ्छित गतिविधि गरेमा आवश्यक कारबाहीका लागि नेपाल कानुन व्यवसायी परिषद्मा लेखी पठाउन सकिने बताए ।

उनले इजलासको मर्यादा कानुन व्यवसायीले राख्नुपर्छ र कानुन व्यवसायीको मर्यादा इजलासले कायम गर्नुपर्छÚ भन्दै न्याय सम्पादन प्रक्रियामा दुवै पक्षको जिम्मेवारी समान रूपमा महत्वपूर्ण रहेको स्पष्ट पारे ।

नवप्रवेशी कानुन व्यवसायीलाई पेशागत यात्राबारे मार्गदर्शन गर्दै उनले कानुन व्यवसायको प्रारम्भिक चरणमा कडा मेहनत र कम आम्दानी, त्यसपछि धेरै काम र धेरै आम्दानी तथा अन्तिम चरणमा कम काम र बढी आम्दानीको अवस्था आउने भएकाले प्रत्येक कानुन व्यवसायीले आफ्नो विशिष्ट पहिचान र विशेषज्ञताको ब्राण्डÚ विकास गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा समाजबाट मुद्दाका तथ्य र प्रमाण नबुझी गरिने टिप्पणी तथा आरोपले न्याय सम्पादन प्रक्रियालाई प्रभावित पार्ने गरेको उल्लेख गर्दै उनले अदालतले केवल तथ्य, प्रमाण र कानुनका आधारमा निर्णय गर्ने स्पष्ट पारे ।

बहसको गुणस्तरबारे चर्चा गर्दै न्यायाधीश दाहालले कानुन व्यवसायीले मुद्दाको मिसिल मात्र अध्ययन गरेर नपुग्ने, तथ्य, कानुन तथा सान्दर्भिक नजिरहरूको समेत गहिरो अध्ययन गरी इजलाससमक्ष प्रस्तुत गर्नुपर्ने बताए । उनले बहसका क्रममा भाषाको संयमित र विवेकपूर्ण प्रयोग गर्न, साक्षीको वकपत्र गराउँदा साक्षीको प्रत्यक्ष वा परोक्ष हैसियतको मूल्याङ्कन गर्न तथा निरन्तर अध्ययन र मेहनतमार्फत पेशागत दक्षता अभिवृद्धि गर्न सुझाव दिए ।

कार्यक्रममा सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका सहसंयोजक तथा कानुन पत्रकार समाजका सचिव अधिवक्ता वसन्त गौतमले न्याय सम्पादन प्रक्रियामा कानुन व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रत्येक कानुन व्यवसायी अध्ययनशील, कर्तव्यनिष्ठ तथा पेशागत मूल्य–मान्यताप्रति प्रतिबद्ध हुनुपर्ने बताए ।

उनले तल्लो अदालतबाट त्रुटिपूर्ण फैसला भए उच्च अदालतले सच्याउन सक्ने भए पनि कानुन व्यवसायीले गलत दाबी वा त्रुटिपूर्ण ढंगले मुद्दाको उठान गरेमा त्यसको प्रत्यक्ष असर सेवाग्राही पक्षलाई पर्ने उल्लेख गर्दै कानुन व्यवसाय केवल पेसा मात्र नभई सेवा पनि भएकाले न्यायका उपभोक्तालाई गुणस्तरीय कानुनी सेवा प्रदान गर्नु प्रत्येक कानुन व्यवसायीको दायित्व भएको उल्लेख गरे ।

नेपाल बार काउन्सिलका पार्षद् अधिवक्ता इश्वरीप्रसाद ज्ञवालीले बार काउन्सिलले कानुन व्यवसायीलाई पेशागत मार्गदर्शन गर्ने संस्थाको रूपमा काम गरिरहेको उल्लेख गर्दै नवप्रवेशी कानुन व्यवसायीहरूले आफ्नो पेशागत यात्रामा आउने चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै सफल गन्तव्यतर्फ अघि बढ्नुपर्ने बताए ।

वरिष्ठ अधिवक्ता भोलासिंह हमालले कानुन व्यवसायमा सफलता प्राप्त गर्न नियमितता, लगनशीलता र धैर्यता अपरिहार्य रहेको बताए । अदालतको कामकारबाहीबारे असन्तुष्टि भए अदालत परिसरका क्यान्टिन वा अनौपचारिक स्थलमा टिप्पणी गर्ने प्रवृत्तिले न्यायालयप्रतिको जनआस्था कमजोर बनाउने भएकाले त्यस्ता विषय इजलासमै कानुनी तर्कका आधारमा उठाउनु उपयुक्त हुने उनको भनाइ थियो ।

नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ताले कानुन व्यवसाय मूलतः सेवामूलक पेसा भएकाले कानुन व्यवसायीले पक्षकारको हितलाई केन्द्रमा राखी इमान्दारिता, कर्तव्यनिष्ठा र उत्तरदायित्वका साथ सेवा दिनुपर्ने बताए ।

बाँके जिल्ला अदालत बार एसोसिएसनकी अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठले कानुन व्यवसाय चुनौतीपूर्ण पेसा भएको उल्लेख गर्दै पेशागत मर्यादा, अनुशासन र नैतिकतालाई आत्मसाथ गर्दै पक्षकारको हितमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन् ।

दुई दिनसम्म सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा वकालतसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमको समापनसँगै अधिवक्ता परीक्षामा उत्तीर्ण भएका ३६ जना नवप्रवेशी कानुन व्यवसायीलाई नेपाल बार काउन्सिलले अधिवक्ताको प्रमाणपत्र तथा कानुन व्यवसायीको लोगो प्रदान गरेको थियो । 

नवप्रवेशी कानुन व्यवसायीहरूको तर्फबाट सुशीला न्यौपाने र सर्वदेश ओझाले अभिमुखीकरण कार्यक्रमबाट कानुन व्यवसायका व्यावहारिक, नैतिक तथा पेशागत पक्षबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउँदै व्यावसायिक मर्यादा कायम राख्दै पेशागत जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया