Listen LIVE

भवन अभावको समस्या झेल्दै बर्दिया अस्पताल

बर्दिया : बर्दिया अस्पतालले लामो समयदेखि भवन अभावको समस्या झेल्दै आएको छ । भवन अभाव हुँदा पुरानो र जिर्ण भवनबाट सेवा दिँदै आएको छ । 

भवन र राख्ने ठाउँको अभाव हुँदा कुरुवा घरमा राखेर बिरामीको उपचार गरिँदै आएको छ । कुरुवा घरमा बिरामी भर्ना गरेपछि कुरुवाहरू बरन्डामा बस्न बाध्य भएका छन् । कुरुवाघरमा बिरामीलाई आवश्यक पर्ने सुविधा नहुँदा अफ्ठ्यारो भएको गुलरिया नगरपालिका वडा–५ की ज्योतीनगरकी बिरामी ज्वाला बस्नेतले बताइन् । 

नर्सिङ्ग स्टेशनबाट पछाडि भएको हुनाले स्टेशनमा जान आउन समस्या भएको बताउँदै पोस्टमार्टम रुमको नजिक भएको हुनाले पनि बिरामी डराउने गरेको बताइन् । 

अरु कोठामा शौचालय लगाएतको सुविधा नभएको र जनशक्ती व्यवस्थापन गर्न नसकेको कारणले कुरुवा घरमा राखेर उपचार गरिएको बर्दिया अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले बताए । उनले भने, 'अरु ठाउँमा व्यवस्थापन गर्न नसकिएको हुनाले बिरामी फर्काउन भन्दा कुरुवा घरमा राखेर उपचार गरिएको हो । अर्को कक्षमा शौचालय खानेपानीको व्यवस्था नभएकोले सार्न सकिएको छैन ।'

यता ओपिडी कक्षको लागि भवन साँगुरो हुँदा एउटै कोठामा दुई भन्दा बढी चिकित्सक बसेर बिरामी चेकजाँच गर्नुपर्ने बाध्यता रहेको छ । साँगुरो ठाउँमा धेरै बिरामीको उपस्थिती हुँदा बिरामी चेक जाँच गर्न समस्या भइरहेको चिकित्सकहरू बताउँछन् । गोप्य रुपमा चेकजाँच गर्नुपर्ने बिरामीलाई झन् समस्या भएको  छ । 

इमरजेन्सी कक्ष साँगुरो हुँदा सात वटा मात्र बेडहरू राखिएको छ । इमरजेन्सीमा कक्षमा कम बेड हुँदा बिरामी नआटाएर एउटै बेड तीन जना सम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । कहिले काँही एकैपटक बिरामी आउँदा वा दुर्घटना हुँदा समेत बिरामीलाई बेन्चमा र भुईँमा समेत राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

इमरजेन्सी र ओपीडीको भवन पुरानो र जिर्ण हुँदै गएको छ । एकातर्फ जिर्ण भवन भएको कारण जोखिम रहेको छ भने अर्को तर्फ साँगुरो भएको हुनाले सेवा दिन कठिनाई भएको सूचना अधिकारी न्यौपानेले बताए । 'सवै कक्ष साँगुरो नै रहेका छन् ।' उनले भने, 'कठिनाइ भएपनि व्यवस्थापन गरेर सञ्चालन गरिरहेका छौँ । कोरोनाको समयमा भवनहरू निर्माण नभएको भए अझै गाह्रो हुन्थ्यो ।'

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुवास पाण्डेले बिरामीको चाप बढ्दै गएको हुनाले थेग्न नसकिने अवस्था आउन लागेको बताए । उनले भने, 'ओपिडी र इमरजेन्सीको अवस्था त झन् गाह्रो छ ।' 

अस्पतालको नयाँ र व्यवस्थीत भवन निर्माणका लागि पटक पटक माग गरेपनि बजेट नपरेको गुनासो मेसु पाण्डेले गरे । भवन निर्माणका लागि गुरुयोजना बनाएर राखेको धेरै भइसक्यो । प्रदेश र संघमा भवन निर्माणका लागि माग गर्न थालेको वर्षौं बित्यो । उनले भने,' गुरुयोजना नै अर्को बनाउनु पर्ने अवस्था आइसक्यो तर बजेट परेन ।'

बर्दिया अस्पतालमा बार्षिक एक लाखभन्दा बढी बिरामी आउने गरेका छन् । जसमध्ये करिब पाँच हजार बिरामी भर्ना हुने गरेका छन् । भने करिब १२ हजार बिरामी इमरजेन्सी सेवा लिन आउने गरेको बर्दिया अस्पतालको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया