Listen LIVE

नेपालगञ्जका विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालन

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयहरुमा फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्दै विद्यालयलाई फोहोरमुक्त बनाउने उद्देश्यले विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालनमा गरिएको छ ।

बास नेपालले ‘ग्रीन नेपालगञ्ज ः सामुदायिक फोहोर रूपान्तरण परियोजना’ अन्तर्गत उपमहानगरभित्रका २० वटा माध्यमिक विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालन गरेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले सो कार्यक्रममार्फत विद्यालयस्तरमै फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गरिएपछि विद्यार्थीमार्फत घरपरिवार र समुदायमा सरसफाइ तथा दिगो जीवनशैली प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।

उनले उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा २० वटा विद्यालय छनोट गरी कार्यक्रम सुरु गरिएको बताए ।

विद्यालयलाई क्रमशः फोहोरमुक्त बनाउने उद्देश्यले सुरु गरिएको सो कार्यक्रम अन्तर्गत २० विद्यालयमा १० जना सहजकर्ताले कक्षा सञ्चालन गरिरहेका छन् । कक्षा सुरु गर्नुअघि उनीहरूलाई प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको थियो । प्रत्येक कक्षामा करिब ४० जना विद्यार्थी सहभागी रहेको जनाइएको छ ।

कार्यक्रम सहजकर्ता माधव कार्कीका अनुसार उक्त कार्यक्रमअन्तर्गत फोहोर व्यवस्थापनसम्बन्धी सात विषयमा कक्षा सञ्चालन भइरहेको छ । फोहोरको आधारभूत परिचय र व्यवहारिक अभ्यास, फोहोर वर्गीकरण, तीन ‘आर’ विधि, फोहोरबाट कम्पोस्ट उत्पादन, फोहोर जलाउँदा हुने असर, विद्युतीय फोहोर व्यवस्थापन तथा फोहोर र जलवायु परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गराइँदै छ ।

कक्षामा न्युजप्रिन्ट, मेटाकार्ड र प्रोजेक्टरको प्रयोग गरी अन्तरक्रियात्मक ढङ्गले सहजीकरण गरिँदै आएको परियोजना संयोजक मन भण्डारीले जानकारी दिए । उनले कक्षामा विद्यार्थीहरूले उत्साहका साथ सहभागिता जनाइरहेको बताउँदै समूहगत अभ्यासले उनीहरूमा व्यवहारिक सिकाइ तिव्र रुपमा बढाएको पाइएको जनाए ।

बासका अनुसार, कार्यक्रममा द कोकाकोला फाउण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोग रहेको छ ।

सो कार्यक्रम नेपालगञ्जका देउतादिन मावि, ज्ञानसागर मावि, महेन्द्र मावि, अनाथलय गौसिया मावि, आदर्श मावि, युद्ध संस्कृति मावि, नारायण मावि, महाराजा मावि, आएसा मदरसा मावि, जगतज्योति मावि, मंगलप्रसाद नमुना मावि, मावि महेन्द्रनगर, जय जनता मावि, धम्बोजी मावि, फुलटेक्रा मावि, नेपालगन्ज कन्या मावि, सरस्वती मावि, नेपाल राष्ट्रिय मावि, दारुल उलुम बर्कातिया मावि र जय बागेश्वरी माविमा कार्यक्रम सञ्चालन भइरहेको परियोजना अधिकृत रबिन्द्र बोहराले बताए ।

परियोजना अधिकृत बोहराले भने, ‘‘विद्यार्थीहरुले उत्साहका साथ कक्षा लिइरहेका र समूहकार्यले विद्यार्थीहरु निकै उत्साहित भएको पाइएको छ, विद्यालय स्तरबाटै बालबालिकाहरुले फोहार व्यवस्थापनको विषयमा शिक्षा लिइ घरपरिवार र समुदायमा सरसफाई गर्न मद्दत पुग्ने विश्वास छ ।’’

प्रतिक्रिया