नेपालगञ्ज : नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढ्दै जाँदा माटोका भाँडाहरूको माग पनि बढ्दै गएको छ । पछिल्लो समय गर्मीमा माटोको गाग्री, सुराही र घैंटोमा पानी राखेर पिउने चलन बढेपछि यस्ता भाँडाहरूको माग बढेको हो ।
फ्रिजको अत्यधिक चिसो पानीभन्दा माटोको भाँडोमा राखिएको पानी स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण धेरै मानिसहरू प्राकृतिक रूपमा पानी चिस्याउने परम्परागत भाँडोतर्फ आकर्षित भएका छन् । यसले गर्दा माटोको घैंटो र गाग्रीको माग अत्यधिक बढेको नेपालगन्जको त्रिभुवन चोकमा माटोका भाँडा बिक्री गर्दै आएका सुशिल कुम्हालले बताए ।
उनका अनुसार पछिल्लो एक महिनादेखि घैंटो, सुराहीलगायत भाँडा लिन आउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । माग अनुसार सामान तयार नहुँदा केही ग्राहक रित्तै फर्कन बाध्य भएको उनले बताए ।
त्यसैगरी नेपालगञ्ज–८, कुम्हारन टोलस्थित आफ्नै घरबाट माटोका भाँडा निर्माण तथा बिक्री गर्दै आएका रमेश कुम्हालले पनि गर्मी बढेसँगै माटोका भाँडाको माग बढेको बताए ।
उनका अनुसार माटोको अभावका कारण पर्याप्त भाँडा उत्पादन गर्न नसकिँदा माग पूरा गर्न समस्या भइरहेको छ । यसले परम्परागत पेशा नै सङ्कटमा परेको उनको गुनासो छ ।
विशेषगरी गर्मी मौसममा माटोको भाँडोमा राखिएको पानी चिसो, स्वादिलो र स्वास्थ्यका लागि लाभदायी हुने भएकाले यसको प्रयोग सहरदेखि गाउँसम्म बढ्दै गएको उपभोक्ताहरू बताउँछन् ।
नेपालगञ्ज–११ इदगाह रोडका मुबारक सिद्दिकीले सस्तो, स्वास्थ्यका लागि लाभदायी र उपयोगी भएकाले गर्मीमा माटोका भाँडाको प्रयोग बढेको बताए ।
तर माग बढ्दै गए पनि परम्परागत रूपमा भाँडा बनाउने कुम्हाल समुदाय कच्चा पदार्थ (माटो) अभावका कारण समस्यामा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले कानुन बनेपछि मात्र माटो उपलब्ध गराउने बताउँदै आएको छ ।
नेपालगञ्जमा बसोवास गर्ने करिब १७० कुम्हाल परिवारमध्ये करिब १५० परिवार माटोका भाँडा निर्माण पेसशमा निर्भर छन् । तर माटो नपाउँदा उनीहरूको उत्पादन ठप्प भएको छ ।
नेपालगञ्ज–८, कुम्हारन टोलका कुम्हाल दिनेश कुम्हालले माटो नपाउँदा चाहेजति भाँडा उत्पादन गर्न नसकिएको र परिवार पाल्नसमेत कठिन भएको बताए ।
उनले माग बढिरहेको अवस्थामा पनि कच्चा पदार्थ अभावले उत्पादन र आपूर्तिमा असर परेको भन्दै समयमै समाधान नखोजिए परम्परागत पेसा लोप हुने खतरा रहेको चेतावनी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार