Listen LIVE

बर्दिया कारागारमा उपचारका लागि बजेट अभाव

बर्दिया : बर्दिया कारागारमा औषधी उपचारका लागि बजेट अभाव भएको छ । कारागारमा भएका कैदीबन्दीको सङ्ख्या अनुसार औषधी उपचार खर्च नआउँदा उपचारमा समस्या भएको हो । 

आर्थिक वर्ष समाप्त हुँदासम्म सिटामोलसमेत अभाव भएको बर्दिया कारागारका कैदी बताउँछन् । कारागारका आन्तरिक प्रशासन प्रमुख हरिकृष्ण भुजेलले क्षमताभन्दा बढी कैदी भएको हुनाले सरुवा रोग छिट्टै सर्ने गरेको बताए । “कैदीबन्दी राम्रोसँग सुत्नसमेत पाउँदैनन् । त्यसैले पनि धेरै बिरामी हुने गर्छन्,” उनले भने, “कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्, त्यसैले पनि गर्मीको समयमा धेरै बिरामी हुन्छन् भने सरकारले सङ्ख्या अनुसार औषधी खर्च नपठाउँदा समस्या भएको छ ।” कारागारमा कैदीबन्दीलाई अत्यधिक ज्वरो आएमा, पखाला लागेमा स्लाइन पानी चलाउनुपर्ने, सुइ लगाउनुपर्ने हुन्छ । कारागारमा कार्यरत अहेब चक्रबहादुर सिंहले त्यसका लागि खर्च महँगो पर्ने हुनाले पनि सामान्य बिरामी भएमा समेत अस्पताल दौडाउनु परेको बताए । 

बर्दिया कारागारमा हरेक वर्ष करिब चार लाख रुपैयाँ आउने गरेको छ । बर्दिया कारागारका प्रमुख नरबहादुर सार्कीले माग धान्नका लागि १० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने बताए । उनले औषधी उपचारका लागि अपुग रकम मागका लागि विभागमा पत्र पठाएको जानकारी दिए । 

कारागारको बसाइँ कष्टकर 

कारागारमा क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी हुँदा कारागारको बसाइँ कष्टकर भएको छ । बर्दिया कारागारको क्षमता १५० जना भए पनि हाल ४२८ जना कैदीबन्दी रहेका छन् । 

कारागारभित्रको अवस्था हेर्दा सानो कोठामा कोच्चिएर सुत्नुपर्ने बाध्यता रहेको छ । शौच गर्न, नुहाउनलगायत व्यक्तिगत सरसफाइका लागि समेत लामो लाइन बस्नुपर्ने बाध्यता रहेको छ । खेल्न र शारीरिक व्यायाम गर्नका लागि ठाउँ साँघुरो भएको हुनाले त्यसको पनि पर्याप्त सुविधा छैन । खाना पकाउने भान्सा सानो र साँघुरो हुँदा सास्ती भोग्नुपर्ने अवस्था रहेको कैदीबन्दीको गुनासो छ । 

बर्दिया कारागारका आन्तरिक प्रशासन प्रमुख भुजेलले नेपालको संविधानले कारागारलाई सुधारगृहका रूपमा उल्लेख भए पनि व्यावहारिक रूपमा त्यो नभएको बताए । उनले भने, “मानव भएको नाताले न्यूनतम आवश्यकता पनि कारागारभित्र प्राप्त गर्न सकेका छैनौँ ।” कारागार प्रशासक सार्कीले लामो समयदेखि कारागारको नयाँ भवन निर्माणका लागि माग गरे पनि पूरा हुन नसकेको बताए ।

प्रतिक्रिया