बर्दिया : राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनाले सिञ्चित क्षेत्र सुरक्षा कार्यक्रम अन्तर्गत बबई नदीमा ३२ किलोमिटर तटबन्ध निर्माण गरेको छ । तटबन्ध निर्माणपछि बबई नदीआसापासको क्षेत्र सुरक्षित भएको छ ।
बबई सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्धबाट बायाँतर्फ रहेका बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाका वडा नं. ११ र १२ सुरक्षित भएका छन् । त्यसै गरी ठाकुरबाबा नगरपालिकाका केही वडासमेत जोखिमबाट मुक्त भएका छन् । बाढी र नदी कटानको उच्च जोखिममा रहेको स्थानमा आयोजनाले ड्यामसहितको तटबन्ध निर्माण गरेको छ ।
गुलरिया नगरपालिका–१२ को भैँसाही टडुवालगायतका बाढी र नदी कटानको उच्च जोखिममा रहेका गाउँ अहिले सुरक्षित भएका छन् । नदीको सतह सामान्य बढ्दा पनि सहजै कटान र बाढी हुने भादा नदी पुल आसपासमा रहेका गाउँसमेत सुरक्षित भएका छन् ।
बबई सिँचाइ आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेले विशेष गरी खेतीयोग्य जमिन र बस्ती भएको स्थानलाई प्राथमिकतामा राखेर तटबन्ध निर्माण गरिएको बताए । उनले बबई नदी र ससाना खोलाको बाढी र कटान रोक्नका लागि आयोजनाले सिञ्चित क्षेत्र संरक्षण कार्यक्रम राखेको बताउँदै ४१ किलोमिटर तटबन्धमध्ये करिब ३२ किलोमिटर तटबन्ध निर्माण गरिसकिएको जानकारी दिए । उनले जीर्ण र जोखिम भएको स्थानमा मर्मत गर्दै बाँकी तटबन्ध निर्माण कार्य जारी राखिएको जानकारी गराए ।
गुलरिया नगरपालिका–११, इन्द्रपुरका त्रिभुवन मल्लाहले पहिले सामान्य पानी पर्दा पनि सडक किनारमा त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था भए पनि अहिले तटबन्धले बस्ती सुरक्षित भएको बताए । उनले भादा नदीमा पानीको सतह बढेपछि पूरै इन्द्रपुर गाउँ जलमग्न हुने गरेको बताउँदै तटबन्ध निर्माण भएपछि ढुक्क भएको बताए । उनले भने, 'अहिले बाढी त आएको छैन तर बाढी आए पनि गाउँमा पानी पस्दैन भन्नेमा ढुक्क छौँ ।'
बबई सिँचाइ आयोजनाका निर्देशक गोपाल शर्माले सिञ्चित क्षेत्र सँगसँगै बस्ती सुरक्षित हुने गरी तटबन्ध निर्माण गर्दै आएको बताए । उनले हालसम्म जोखिमयुक्त क्षेत्रमा र बस्तीको नजिकमा तटबन्ध निर्माण गरिएको बताउँदै आयोजनाको गुरुयोजना अनुसार थप नौ किलोमिटर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको बताए । बबई नदीसँगै भादा खोला, सर्जु नालालगायतका ससाना खोलानालामा समेत कटान नियन्त्रणको काम भइरहेको जानकारी गराए ।
२०४५ सालदेखि सुरु भएको बबई सिँचाइ आयोजनाको आगामी २०८५/८६ सम्म निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको लागत २६ अर्ब रहेकोमा १८ अर्ब रकम लगानी भइसकेको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति ८१ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत भएको आयोजनाका निर्देशक शर्माले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार