नेपालगञ्ज : बाँकेको कोहलपुरमा पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माण गरिएको छ । कोहलपुर नगरपालिका—११ स्थित डुडुवा र रोहिनी खोलाको छेउमा सो आधुनिक शवदाह गृहको निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले पाँच लाख ५१ हजार, कोहलपुरका विभिन्न सामाजिक सङ्घसंस्था, व्यक्तिलगायतले गरी करिब एक करोड १० लाखभन्दा बढी रकम प्रदान गरेको कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले बताए ।
उनले तीन महिनामा निर्माण पूरा गर्ने गरी काम सुरु गरिए पनि एक वर्षमा निर्माण पूरा भएको बताए ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले शवदाह गृह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्म गएर शव अन्त्येष्टि गर्नुपर्ने झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य भएकोे बताए ।
उनले थपे, ‘‘कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्येष्टिका लागि राप्तीसोनारीको अगैया र बर्दियाको बबईसम्म समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो, अब त्यो अवस्थाको अन्त्य भएकोे छ ।’’
कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले गरिब तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्येष्टि गर्न लैजान नै महँगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहको निर्माणले अन्त्य गरेको बताइन् । उनले यसको रेखदेख र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सो शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइएको जनाइएको छ । त्यहाँ मलामीहरू बस्नका लागि अत्याधुनिक भौतिक संरचना बनाउनुका साथै शौचालयको पनि व्यवस्थापन गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार