नेपालगञ्ज : तिहार सुरु हुनुभन्दा पहिले नै शुरु हुनेगरेको जुवातासविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले एक्सन शुरु गरेको छ । दुई दिनअघि नेपालगञ्जको एक होटलबाट १४ जना जुवाडे पक्राउ गरिएको प्रहरीले शुक्रवार राति खजुराबाट पाँच जना जुवाडेलाई पुनः पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार बाँकेको खजुरा गाउँपालिका –४ डिगाउँमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको हो ।
उनले राति करिब २ बजेतिर दिनेश शाहीको ब्रोइलर कुखुरा पालन गर्न बनाएको टहरोभित्र हारजित हुनेगरी जुवातास खेल्दैगरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको बताए ।
खेल भइरहेको जुवा खालबाट नगद ४७ हजार ३० रुपैयाँ र तासका ४६ गड्डी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेहरुमा बाँके जानकी गाउँपालिका –५ का ४० वर्षीय कृष्ण चौधरी, खजुरा गाउँपालिका –३ का ३२ वर्षीय शैलेन्द्रकुमार मिश्र, सोही गाउँपालिका –४ का ३६ वर्षीय गोपाल बुढाक्षेत्री, सोही ठाउँका ४६ वर्षीय आशिष गुरुङ र बर्दिया बढैयाताल गाउँपालिका –३ का ५० वर्षीय राजेश गुरुङ रहेका छन् ।
जुवा खेलिरहेका चार जना फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले समाजमा बढ्दो जुवातास र सट्टेबाजीले अपराध र घरेलु हिंसा बढाउने लगायतका अपराधको जोखिम रहेकाले कडाई गरिएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार