Listen LIVE

‘त्रिभुवन चोकको खानेपानी ट्यांकी फोहोर र दुर्गन्धित’

नेपालगञ्ज : नेपालगञ्जको मुटु त्रिभुवन चोकमा रहेको सार्वजनिक पानी ट्यांकी फोहोर, दुर्गन्धित र खिया लागेका धाराहरूका कारण सार्वजनिक स्वास्थ्यमा गम्भीर जोखिम बनेको छ । पञ्चायतकालमा यात्रु र नागरिकको सुविधाका लागि बनाइएको यो ट्यांकी लामो समयदेखि मर्मत र सफाइको अभावमा रोगको भण्डार बनेको छ । यद्यपि, अनजान यात्रुहरू यो अस्वच्छ पानी पिउन बाध्य छन् ।

स्थानीय श्यामकुमार मिश्रका अनुसार, ट्यांकी विगत ५–७ वर्षदेखि सफा गरिएको छैन । ट्यांकीको माथिल्लो प्लेट अत्यधिक भारी भएकाले स्थानीयले सफाइ गर्न नसकेको बताएका छन् । अर्का स्थानीय रामगोपाल वैश्यले भने, “प्लेट यति गह्रौँ छ कि दुई–चार जनाले उचाल्न सक्दैनन्, हामीले चाहेर पनि केही गर्न सकेका छैनौँ ।”

यो ट्यांकी वडा नं. ८ र ११ को सिमानामा पर्ने भएकाले दुवै वडा कार्यालयको बेवास्ताको सिकार बनेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले समेत यो समस्याप्रति कुनै चासो नदिएको स्थानीयको गुनासो छ । “फोहोर र दुर्गन्धका कारण यात्रुहरूले नाक–मुख छोप्नुपर्छ, यो अवस्थाले उपमहानगरपालिकाकै बदनामी भएको छ,” स्थानीय कृष्ण कुमारले भने ।

स्वास्थ्यविज्ञहरूका अनुसार, यस्तो फोहोर पानीको प्रयोगले झाडापखाला, आउँ, टाइफाइडजस्ता रोगहरू फैलिन सक्छ, जुन विशेष गरी यात्रु र बालबालिकाका लागि खतरनाक छ । यो ट्यांकीको दुर्दशाले सार्वजनिक स्वास्थ्यमा ठूलो जोखिम निम्त्याएको छ ।

स्थानीयले उपमहानगरपालिका र वडा कार्यालयहरूलाई तत्काल ट्यांकीको सफाइ, मर्मत र नियमित साफ सफाइको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया