काठमाण्डौ : छिमेकी देश भारतको गुजरात राज्यमा चान्दीपुरा भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । भाइरसले सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन् । चान्दीपुरा भाइरसको सङ्क्रमण भएको २४ देखि ४८ घण्टा भित्र बिरामीको मृत्यु गराउँछ ।
चिकित्सकका अनुसार यसले बालबालिकामा मृत्यु गराउने दर ८५ प्रतिशत रहेको छ । गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चान्दीपुरा भाइरस फेला परिसकेको छ । ग्रामिण भेगमा देखिनएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका ठूला सहरहरूमा पनि फैलिन थालेको छ । गुजरात बाहेक राजस्थानमा पनि चान्दीपुरा भाइरसको सङ्क्रमण फैलिन थालेको छ ।
राजस्थानमा हालसम्म ६ जनामा चान्दीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ । अन्य ५ जनाको उपचार भइरहेको छ । त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस देखा परेको छ । भारतमा पहिलोपटक १९६६ मा महाराष्ट्र राज्यमा उक्त भाइरसको केस फेला परेको थियो । नागपुरको चान्दीपुरमा भाइरसको पहिचान भएको थियो । त्यसकारण उक्त भाइरसको नाम चान्दीपुरा भाइरस राखियो । त्यसपछि सन् २००४, २००६ र २०१९ मा पनि आन्ध्र प्रदेश, महाराष्ट्र र गुजरातमा उक्त भाइरस देखा परेको थियो ।
चान्दीपुरा भाइरस आरएनए भाइरस हो । जुन सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ । एडीज एजिप्टी लामखुट्टे पनि यसका लागि कारण मानिन्छ । चान्दीपुरा भाइरसको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, फ्लू जस्ता लक्षणहरू देखा पर्ने हुन्छ ।
जसमा बेहोश हुने, कमजोरी हुने जस्ता लक्षण पनि देखिन्छन् । सङ्क्रमित लामखुट्टेमा वा किरा फट्याङ्ग्राले टोकेपछि हुने उक्त भाइरसले शरीरमा प्रवेश गरेपछि व्यक्तिको नर्भस सिस्टममा आक्रमण गर्छ र व्यक्तिको इन्सेफलाइटिस अर्थात् मस्तिष्कको तन्तुहरूमा सुन्निने समस्या निम्त्याउने गर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार