Listen LIVE

संसद् अवरोध गरेर सांसदले पचाए ५४ लाख भत्ता

काठमाण्डौ :  प्रतिनिधि सभाको बैठक आज बस्दैछ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

भिजिट भिसा प्रकरणमा दलहरु सहमति नजिक पुगेको र आज सहमति भएर संसद सुचारु हुने दाबी गरिएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन्।

यस अवधिमा प्रतिनिधि सभाका ३ वटा बैठक सूचना टाँसेर स्थगित गरिएको छ भने १० बैठकमा विपक्षीले अवरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित गरियो। यसले संसदको क्यालेन्डर पनि प्रभावित बनेको छ। 

विपक्षीको अवरोधकै कारण सरकारले गत जेठ १५ गते ल्याएको बजेटमाथि छलफल पनि हुन  सकिरहेको छैन। 

विधेयकहरू पनि पेश भएका छैनन्। राजनीतिक दाउपेचका कारण बैठक अवरूद्ध भएको दिनको भत्ता भने सांसदहरूले बुझ्ने गरेका छन्। 

संसद् बन्धक बनाइएको झन्डै आधा महिना भयो । तर संसद् बैठक नबस्दा पनि सांसदहरूले बैठक भत्ता भने पचाइरहेका छ। तर काम नभएको दिनको तलब भत्ता वापत् सरकारी कोषबाट सांसदहरूका लागि १ करोड रूपैयाँ भन्दा बढि सित्तैमा खर्च भएको छ।  

सदन अवरोध भएका दिन पनि सांसदहरूको हाजिरी हुने गरेको छ। हाजिर गरेपछि भत्ता सुविधा पाउने व्यवस्था छ। 

संसद्को यही अधिवेशनबाट नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, भूमिसम्बन्धि विधेयक, नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक पारित गर्ने भनी सरकारले नीति कार्यक्रममै राखेको छ। 

तर, विपक्षीको अवरोधकै कारण संसद्को नियमित कार्यसूची प्रभावित बनेको छ। 

अहिले सांसदहरूको मासिक तलब ६६ हजार रूपैयाँ छ। त्यसबाहेक संसद् चलेका बेला सांसदहरूले दैनिक २ हजार भत्ता पाउँछन्। अर्थात्, अहिलेको कुल सांसद संख्या २ सय ७० जनाको भत्तामा मात्र दैनिक ५ लाख ४० हजार खर्च हुने गरेको छ।

संसद् अवरोध भएको मध्ये बस्दै नबसी सूचना टाँस गर्दा भने सांसदहरूले भत्ता पाउँदैनन्। पछिल्लो १३ वटा बैठकमध्ये यसरी बस्दै नबसी स्थगित भएको बैठक संख्या ३ वटा मात्र छ। १० वटा बैठक भने अवरूद्ध हुँदा पनि सांसदहरूले भत्ता सुविधा भने पाउनेछन्। अर्थात् संसद् अवरोध भएको अवधिमा मात्र सांसदहरूले ५४ लाख भत्ता बुझ्नेछन्।

प्रतिक्रिया