Listen LIVE

लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी सेवा विस्तार

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराउन आउने सेवाग्राहीका लागि छुट्टै फार्मेसी कक्ष स्थापना गरेको छ । अस्पतालमा सेवाग्राहीको चाप व्यवस्थापन तथा सेवालाई सहज बनाउन फार्मेसी स्थापना गरिएको अस्पतालले जनाएको छ । 

छुट्टै फार्मेसी सेवाको उदघाटन गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले फार्मेसीको सेवाबाट गुणस्तरीय स्वास्थ्य सेवासँगै सबैको पहुँचयोग्य बनाउने लक्ष्य रहेको बताए । सरकारले लागु गरेको बिमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भए पनि स्वास्थ्य संस्थालाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उनले बताए । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार दैनिक छ सयदेखि नौ सयसम्म सेवाग्राही बिमा सेवा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने गर्छन् । 

बिमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घन्टौँ लाइनमा बस्नुपर्ने समस्या कम हुने उनले बताए । उनले अस्पतालमा सेवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्सरे सुविधा, ल्याब प्रयोगशाला विस्तारलगायतका योजना रहेको बताए । त्यसै गरी २४ घन्टे ओपिडी फार्मेसी सेवा सञ्चालनमा आएपछि बिरामीलाई राति र बिदाको समयमाबाहिर जानुपर्ने समस्या अन्त्यन्त हुने र अस्पतालको फार्मेसीबाट बिक्री बढ्ने फार्मेसी प्रमुख पदम खनालले बताए ।

अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरङ्ग सेवामा परीक्षण, ११ सय १८ प्रकारका औषधी, रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्सरे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बिमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको बताए ।

प्रतिक्रिया