नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ वडा कार्यालयले खेलकुद पूर्वाधारमा लगानी बढाउन थालेको छ ।
वडालाई खेलकुद हबका रूपमा विकास गर्ने लक्ष्यसहित खेलकुदको विकासका लागि महत्वपूर्ण पाँच वटा पूर्वाधारमा लगानी गरेको हो ।
वडा कार्यालयले धम्बोझीमा ठूलो र आकर्षण पूर्वाधार भएको ब्याडमिन्टन प्रशिक्षण केन्द्र बनाएको छ । करिब १ करोड २० लाख लगानीमा बनेको ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा दुई वर्षदेखि खेलप्रेमीहरु नियमित अभ्यास गर्दै आएका छन् । प्रशिक्षण केन्द्रमा हाल ५५ जना शुल्क तिरेर अभ्यास गर्ने खेलाडी छन् भने २० जना खेलाडीलाई वडाले निःशुल्क प्रशिक्षण दिएको स्थानीय रमेश मल्लले बताए ।
नयाँ खेलाडी उत्पादन, बालबालिकामा खेलप्रति चासो जगाउने, र उनीहरूलाई पेशागत खेलकुद यात्रातर्फ प्रेरित गर्ने उद्देश्यले वडाले ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरेको हो । प्रशिक्षण केन्द्रको वार्षिक आम्दानी ४ लाख र खर्च ३ लाख रुपैयाँ छ । साथै चौकीदार र मर्मत–सम्भारका लागि आवश्यक पर्ने १ लाख रकम वडाले नै उपलब्ध गराउँदै आएको छ ।
यो वडाले लगानी गरेको अर्को महत्वाकांक्षी परियोजना हो, एन्फा ग्रासरुट फुटबल स्पोर्टस् एकेडेमी । करिब १ करोड १० लाख लागतमा निर्माण गरिएको यो मैदान बालबालिकादेखि युवा पुस्तासम्मका खेल प्रेमीका लागि स्थायी प्रशिक्षण स्थलको रुपमा छ । यो मैदानले वडालाई मात्र नभई नेपालगञ्ज उपमहानगरपालिकालाई पनि फुटबलमैत्री शहरको रूपमा स्थापित गर्न थालिसकेको मल्लले बताए । वडा कार्यालयले साइकल पम्प ट्रयाकमा पनि ठूलो लगानी गरेको छ ।
पम्प फर ट्रयाक परियोजनामार्फत करिब ६० लाख लागतमा निर्माण गरिएको यो संरचना विदेशी सहयोग र स्थानीय लगानीको संयुक्त पहलमा बनेको हो । स्वीस, जर्मनी, अस्ट्रेलियालगायत मुलुकका नागरिकहरूले ४५ लाख रुपैयाँ बराबरको योगदान जुटाएर ट्रयाक निर्माणमा सहयोग उपलब्ध गराएका थिए । बाँकी १५ लाख रुपैयाँ वडा र उपमहानगरपालिकाको साझेदारीबाट व्यवस्थापन गरिएको हो ।
शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र स्वस्थ जीवनशैलीलाई पनि प्राथमिकताका राखेर यो वडाले ३५ लाखको लागतमा योग भवन पनि बनाएको छ । भवन बनेपछि योगप्रेमीहरूका लागि निश्चित तालिका, प्रशिक्षक र व्यवस्थित कक्षासहित नियमित अभ्यास गर्न सहज भएको छ । योग अभ्यासमा आएका आनन्दप्रकाश महपाल भन्छन्, ‘अब भवनभित्र नियमित कक्षा हुन्छ, वातावरण अनुकूल हुँदा शरीर–मन दुवै ताजा हुन्छ ।’
वडाले १० लाख रुपैयाँमा ओपन जिम पनि अर्को वैकल्पिक खेल संरचनाका रूपमा अघि सारेको छ । हाल अन्तिम चरणको काम भइरहेको निर्माणाधीन जिमले युवा र स्वास्थ्यप्रेमीका लागि खुला ठाउँमै व्यायाम गर्ने वातावरण तयार गरिरहेको वडा कार्यालयले जनाएको छ ।
वडामा ‘फिजिकल फिटनेस’ संस्कृतिलाई अझ व्यवस्थित रूपमा स्थापित गर्ने वडाको योजना रहेको नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले बताए । ‘युवालाई मोबाइल तथा लागुऔषधको लतबाट टाढा राख्न पनि यसले केही हदसम्म सहयोग गर्ने छ,’ अध्यक्ष रिजालले भने, ‘२६ कठ्ठा जग्गामा हामीले फुटबल मैदान, बास्केटबल कोर्ट, भलिबल कोर्ट, सट टेनिस कोर्ट निर्माण गरिसकेका छौं । एन्फा ग्राउन्डमा कार्यालयसहितको भवन पनि निर्माण भइसकेको छ ।’ वडालाई सबैखाले खेल संरचनासहितको नमुना हबका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार