Listen LIVE

शिक्षक शिक्षिकाका लागि क्षयरोग सम्बन्धी अन्तरक्रिया

नेपालगञ्ज : नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा १ दिने शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अन्तरक्रिया गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका अन्तर्गतका विद्यालयका शिक्षक शिक्षिका मार्फत क्षयरोगको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा नेपालगञ्जका १६ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका टि.बी. फोकल पर्सन स्वास्थ्य अधिकृत विनोदकुमार विकले क्षयरोगको लक्षण, क्षयरोगीको उपचार पद्धती, क्षयरोगको प्रकार र वर्तमान अवस्थाको तथ्याङ्क सहितको प्रस्तुतीकरणमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा १२४ जना क्षयरोगीहरुले नियमित औषधी सेवन गरिरहेको बताए ।

उक्त प्रस्तुतीकरण माथि टिप्पणी गर्दै नेपाल क्षयरोग निवारण संस्था बाँकेका सल्लाहकार र स्वास्थ्य विज्ञ सेमराज शाक्यले टि.वी.का किटाणु सबै मानिसमा हुन्छ, तर जसको प्रतिरोध गर्ने क्षमता कम हुने भन्दै त्यस्तो व्यक्तिलाई रोग संक्रमण बढी हुने गरेको बताए ।

यसैगरि जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन स्वास्थ्य अधिकृत रवीन्द्र क्मार शाह, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख जागेश्वर बस्नेतले सन् २०३५ सम्म क्षयरोग मुक्त मुलुक बनाउन नेपाल सरकारको रणनैतिक योजनाको बारेमा चर्चा गर्दै सोही अनुसार विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको जानकारी दिए । उनीहरुले क्षयरोग निवारणका विभिन्न उपायहरुका बारेमा पनि महत्वपूर्ण धारणा राखे ।

कार्यक्रममा सहभागीहरुबाट राखिएका जिज्ञासाहरुको कार्यक्रमका स्रोत व्यक्ति नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका टि.बी. फोकल पर्सन स्वास्थ्य अधिकृत विनोदकुमार विकले जवाफ दिएका थिए ।

नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय समितिकी सदस्य एवं प्रमुख अतिथि रचना श्रेष्ठले क्षयरोग निवारणका लागि यस्तो प्रकारको कार्यक्रमहरु विभिन्न जिल्ला शाखामार्फत सञ्चालन भइरहेको बताइन् ।

नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका सभापति जनकराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षकहरुको तर्फबाट नारायाण उच्च माध्यमिक विद्यालयका शिक्षक कमलराज खनालले आफ्नो विचार व्यक्त गरेका थिए । बाँके शाखाका प्रवक्ता प्रहलाद विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन शाखाका सचिव बसन्त लामिछानेले गरेका थिए ।

प्रतिक्रिया