सल्यान : निर्माण सामग्रीको अभावमा सल्यान थारमारे–मौलाहाले–बडागाउँ हुँदै चौरजहारी जोड्ने सडक स्तरोन्नतिको काम एक महिनादेखि रोकिएको छ । निर्माण सामग्री अभावका कारण थारमारे चौरजहारी सडकको वडागाउँ रागेचौर सडक खण्डको वैशाखको पहिलो सातादेखि काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।
धुलिखेल अप्लाइट जेभी सिन्धुपाल्चोकले १३ करोड रुपैयाँको लागतमा वडागाउँ रागेचौर सडक खण्डको १० किलोमिटर स्तरोन्नतिको जिम्मा लिएको थियो । वडागाउँ कम्पनीले असार मसान्तसम्म कालोपत्रेसहितको काम सक्नेगरी पूर्वाधार विकास कार्यालय सल्यानसँग सम्झौता गरेको थियो । तर, निर्माण सामग्री अभाव भएपछि काम अघि बढ्न सकेको छैन ।
निर्माण कम्पनीका साइट इन्चार्ज मुकुन्दराज तिवारीले सडक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन गर्न बागचौर नगरपालिका–३, चौरपानीमा राखिएको क्रसर उद्योग बन्द भएपछि काम रोकिएको जानकारी दिए । उनले भने, “सब बेसको काम धेरै ठाउँमा सकिएको छ, अब बेस बिछ्याउने चरणमा छौं, तर क्रसर बन्द भएपछि अगाडि बढ्न सकेनौं ।”
निर्माण सामग्रीको अभाव भएपछि कामदारहरू घर फर्काइएका छन् भने निर्माण उपकरण साइट अफिसमै थन्किएका छन् । सब–डिभिजन वन कार्यालय थारमारे र बागचौर नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कनबिना उत्खनन गरिएको भन्दै क्रसर उद्योग सञ्चालन रोक लगाएका हुन् । समन्वयको अभाव र कानुनी प्रक्रिया नपुगेका कारण निर्माण कम्पनीको काम एक महिनादेखि अवरुद्ध भएको हो ।
निर्माण कम्पनीले सामग्री अभाव देखाएर काम रोकिँदा असार मसान्तसम्म कालोपत्रेसहितको काम सम्पन्न गर्न कठिन हुने देखिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानका इन्जिनियर तथा सूचना अधिकारी सिद्धार्थ मिश्रले सम्झौता भएको समयमा काम सकिन गाह्रो भएको बताए । उनले भने, “आर्थिक वर्षको अन्त्य नजिकिँदैछ, वर्षा पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा समयमै काम सकिन गाह्रो छ ।”
बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माण कम्पनिले थारमारे–चौरपानीबिचको भागको काम नगरेको भन्दै कार्यपालिकाको बैठकले त्यस क्षेत्रको काम पनि कम्पनिले गर्नुपर्ने निर्णय गरेको बताए । उनका अनुसार वागचौर नगरपालिका क्षेत्रको काम नगरी क्रसर सञ्चालनको अनुमति दिन सकिँदैन ।
राप्ती राजमार्गको थारमारेदेखि रुकुम चौरजहारी जोड्ने सडक निर्माणको काम रोकिनु दुःखद भएको कुमाख गाउँपालिका–६ का वडाध्यक्ष कर्णबहादुर विकले बताए । उनले भने, “कुमाख गाउँपालिका धेरै भूभाग समेट्ने सडकको काम छिटो सम्पन्न गर्न सबैले ध्यान दिन पर्दछ ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार