नेपालगञ्ज : राजापुर नगरपालिका–२, नयाँगाउँ बर्दिया स्थायी घर भई हाल नेपालगञ्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीया रीता चौधरीले चिया बेचेरै मासिक ७० हजार रुपैयाँ कमाउँछिन् ।
देशमा केही रोजगार छैन, काम पाइँदैन भन्दै दैनिक हजारौँ युवायुवती रोजगारीका लागि विदेश जाँदै गर्दा ३० वर्षीया युवती रीता भने हातमा चियाको थर्मस लिएर नेपालगञ्जको सडक सडकमा चिया बेच्दै मासिक ७० हजार रुपैयाँसम्म कमाइ गर्छिन् ।
बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नेपालगञ्ज बजारमा डुलेर चिया बेच्ने रीताले दैनिक १२५ कपदेखि १५० कपसम्म चिया बिक्री गर्छिन् । एक कपको २० रुपैयाँमा चिया बेच्ने गरेको बताउँछिन् रीता ।
“बिहान ५ बजे डेराबाट चिया लिएर निस्किन्छु, ५ः१५ बजे पुष्पलाल चोकस्थित बस छुट्ने ठाउँमा पुग्छु, एक डेढ घण्टा त्यहाँ चिया बिक्री गर्छु, त्यसपछि बसपार्क पुग्छु र बसपार्कमा पुगेर पसल पसलमा चिया बिक्री गर्दै ९ बजे कोठामा पुग्छु,” रीताले भनिन् ।
श्रीमान् र साढे नौ वर्षकी छोरीका साथ बस्दै आएकी रीताले चिया बेचेर आएको आम्दानीबाट घरखर्च गर्न र छोरीको पढाइ खर्च गर्न सजिलो भएको बताइन् । “श्रीमानको पनि सानोतिनो जागिर छ, म किन श्रीमानको मुख ताक्ने भनेर श्रीमानकै सल्लाहमा यो काममा लागेँ, छोरीलाई सरकारी स्कुलमा भर्ना गरेका छौँ, ६ कक्षामा पढ्ने छोरीको खर्च, आफ्नो खर्च र घरखर्च गर्नसमेत मेरो कमाइले मद्दत पुगेको छ,” रीताले भनिन् ।
बर्दियाको राजापुरमै १० कक्षासम्म मात्र पढेकी रीताले विवाहपछि पढाइलाई अगाडि बढाउन नसकेको बताइन् । गत जेठ महिनाबाट बजार डुलेर चिया बेच्न थालेको र थोरै लगानीमा चिया बेचेरै मासिक हजारौँ रुपैयाँ आम्दानी हुने भएपछि दीर्घकालीन रूपमै यो पेसा गरिरहने उनको भनाइ छ ।
थोरै लगानीमा अलिकति मेहनत गरेर चिया बेचेरै मासिक हजारौँ रुपैयाँ आफूले कमाइ गर्दै आएको भन्दै रीताले अरू युवालाई पनि देशमै सानातिना पेसा व्यवसाय गरे यहीँ कमाउन सकिने भएकाले लाज नमानेर काम गर्न आग्रह गरिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार